मङ्सिर २० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र 'माछा माछा' टिम यति बेला प्रचारप्रसारको अन्तिममा समयमा छ । अब चलचित्र कस्तो बनेको छ दर्शकले नै बताउनेछन् । चलचित्रका मुख्य दुई कलाकार सौगात मल्ल र नम्रता श्रेष्ठ प्रचारप्रसारमा समय दिइरहेका छन् । यसैबिच सौगातले आफ्नो चलचित्र यात्राको सुरुवातका दिन देखी एउटा कलाकार बन्न चालेका पाइलाको बारेमा बोलेका छन् । यसै गरी नम्रताले पनि आफूलाई निकै मन पर्ने अभिनेता सौगातसँग काम गर्दा डर लागेको सुनाएकी छिन् । उनले आफूलाई चलचित्रबाट अफर आउँदा र सौगातको अपोजिटमा काम गर्ने भन्ने थाहा पाउँदा निकै डर लागेको बताइन् । सौगातले आफूले धेरै नयाँ कलाकारसँग काम गरिसकेको र आफूले नम्रता पनि नर्भस हुन सक्ने भएकाले आफूले सकेसम्म सहज वातावरण निर्माण गर्ने कोसिस गरेको भनेका छन् । उनले आफ्नो करियरको सुरुवाती दिन सम्झिँदै आफूले पहिलोपल्ट चलचित्रमा कुटाइ खाने सिन गरेको र सबै साथी अगाडी कुटाइ खाने सिन गर्दा निकै नर्भस भएको र क्यामेरा फेस गर्दा निकै गाह्रो भएको अनुभव सुनाएका छन् । यसै गरी कुराकानीको क्रममा सौगातले नम्रतालाई काम गर्दा सहज बनाउने कोसिस गरेको भने ।

अहिलेसम्म सौगातले धेरै नयाँ पुराना अनुहारसँग स्क्रिन सेयर गरिसकेका छन् । अभिनयको यती लामो यात्रा तय गरिसकेका उनले आफू कुन अभिनेत्रीसँग काम गर्दै छु भनेर सोच्नु भन्दा नि आफ्नो काम तर्फ ध्यान दिनु पर्ने र आफूले नि त्यही गर्ने बताए । उनले माछासँग सम्बन्धित बालापनको याद सम्झँदै आफूले धेरै माछा मार्न बल्छी हाल्ने गरेको तर एक पटक पनि बल्छीमा माछा नपर्ने गरेको याद सुनाए । तर चलचित्रमा माछा आफ्नो बल्छीमा पर्ने आशावादी रहेको बताएका छन् । तीन जना गाउँले युवाले सहरमा जीवन स्थापित गर्न लागिपरेको सङ्घर्षको कथा चलचित्रले उठाएको छ । मुख्य पात्रमा अभिनेता सौगात मल्ल, विजय बराल र अनोज पाण्डे छन् भने यसमा नम्रता श्रेष्ठ पनि अटाएकी छिन् । निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईले लगानी गरेको चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन, अनुपम शर्माको सङ्गीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।