चलचित्र 'दि कर्मा’को अफिसियल टीजर रिलिज भएको छ । माघ १७ गते रिलिज चलचित्रको टीजरमा नायिका द्वय परमिता राज्यलक्ष्मी राणा र नीता ढुङ्गानाको साथमा नायक करण बर्मा र अभिनेता बुद्दी तामाङलाई देख्न सकिन्छ । एक्सन प्याक्ड टिजरमा डेब्यु नायक करण बर्मालाई एक्सन अवतारमा देखाइएको छ । यसै गरी चलचित्रमा नायिका राणाले बोल्ड भूमिका निभाएको पनि देख्न सकिन्छ । टिजरमा कुनै संवाद समेटिएको छैन भने अभिनेत्री नीता प्रहरी अफिसर र परमिता ‘लेडी डन’ को भूमिकामा रहेको टिजरबाट अनुमान गर्न सकिन्छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा'को कथा निर्माता जय राज राय आफैले लेखेका हुन् । रायसँगै श्रीदेव बि ।एल । र निशा खतिवडा निर्माता रहेको यस चलचित्रमा शारदा खड्का अर्याल सह निर्माताको रूपमा छन् । चलचित्रलाई रामेश्वर कार्कीले छायाङ्कन गरेका छन् ।

‘दि कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो । करण, नीता, परमिता, बुद्दीसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापितलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । नेपाल रिलिजसँगै अन्य मुलुकहरूमा पनि चलचित्र हुने निर्माण टिमले बताएको छ । चलचित्रको छायाङ्कन नेपालको तराई क्षेत्रमा भएको हो । ‘दि कर्मा’ नेपाल र भारतको सीमा क्षेत्रमा हुने घटनामा बनेको निर्माता जय राज रायले बताएका छन् । भारतीय कलाकार करणको अभिनयका कारण पनि यसलाई धेरैले चासोपूर्वक हेरेका छन् ।