आज मङ्सिर १९ गते स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको २९औं स्मृति दिवस परेको छ । आजकै दिन २९ वर्षअघि अर्थात् २०४७ मङ्सिर १९ गते नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा स्वरसम्राट नारायण गोपाललाई नेपालीले गुमाएका थिए । दर्जनौँ कर्णप्रिय गीतहरू नेपाली सङ्गीत आकाशलाई दिएका नारायण गोपाल ले दिएको सङ्गीत र गायनलाई अहिलेसम्म कसैले पनि तोड्न सकेका छैनन् । नेपाली सङ्गीतका क्षेत्रमा गहिरो प्रभाव छोड्न सफल उनी नेपाली जनजनको मनमा अहिले पनि जीवन्त छन् । नारायण गोपाल सङ्गीत कोषले उनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवीका कोखबाट उनको १९९६ असोज १८ गते काठमाडौँमा जन्म भएको थियो । विसं २०१७ मा पहिलो गीत रेकर्ड गरेर उनले साङ्गीतिक यात्रा प्रारम्भ गरेका थिए । करिब १०० बढी गीतमा आवाज भरेका उनको आवाज आज पनि हरेक नेपालीको मनमा गुन्जिरहन्छन् ।