आज शुक्रवार हलमा नयाँ चलचित्र रिलिज हुने दिन । नेपाली चलचित्र प्रेमीले एक हप्ता सम्म कुरिरहेको दिन । आज हलमा दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । असोज देखी ओरालो झारेको बक्स अफिस लाई केही आशा दिलाउँदै सौगातको 'माछा माछा' र टेक पौरखी राईको निर्देशनमा निर्माण भएको चलचित्र 'माया पिरिम' प्रदर्शनमा आएका हुन् । अभिनेता दयाहाङ राई र ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेको यस चलचित्रलाई डेब्यु निर्देशक सुनिल गुरुङले निर्देशन गरेका हुन् । बुधवार बिग मुभिज मा सम्पन्न प्रिमियरमा निर्माता दयाहाङको टिम लगायत अन्य कलाकारको पनि राम्रो उपस्थिति रहेको थियो । चलचित्र हेरेका सबैले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया दिएका छन् । चलचित्र हेर्न अभिनेत्री मिरुना मगर, गौरव पहारी, बुद्धि तामाङ, असिफ शाह, असिम शाह लगायतको उपस्थिति रहेको थियो । उपस्थित सबैले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए ।

यसै गरी प्रेमकथामा आधारित चलचित्र  'माया पिरिम'मा कमेडी र एक्सनलाई पनि समेटिएको छ । कोसिस क्षेत्री र अभिनेत्री किरण चन्दका अलावा विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङलगायतको अभिनय रहेको छ । चलचित्रको कथा निर्माता सविन अधिकारीले लेखेका हुन् भने सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेका छन् । सह-निर्मातामा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् । चलचित्रलाई निरज कँडेलले खिचेका हुन् यसै गरी श्री श्रेष्ठको द्वन्द्व रहेको छ । ट्रेलर रिलिज कार्यक्रममा अभिनेता कोसिसले चलचित्रको आफ्नो भूमिकालाई लिएर उत्साहित रहेको बताए । उनले चलचित्रको कथावस्तु राम्रो रहेकोले पनि दर्शकलाई मन पर्ने आशा व्यक्त गरे ।