डेब्यु चलचित्र 'ए मेरो हजुर २'बाट नेपाली सिने जगतमा पाइला टेकेका सलिनमान बनियाँको दोस्रो चलचित्र 'यात्रा' गत वर्षको चैतमा रिलिज भएको थियो । चलचित्रले दर्शकलाई सोचे अनुरूप हलसम्म तान्न सकेन । तर सलिनले उत्कृष्ट नायकको उपाधि भने हात पारे । 'यात्रा' प्रदर्शन भएसँगै सलिन मिडियामा आएका थिएनन् । लामो समय मिडियाबाट टाढा रहेका उनी मिडियामा देखिएका छन् । उनी शुक्रवार कोरियोग्राफर प्रवीण सिंहले सञ्चालनमा ल्याएको 'द डान्स हाउस'को उद्घाटन गर्न महाराजगन्ज पुगेका थिए । कुराकानीमा सलिनले ‘यात्रा’पछि आफ्नै व्यवसायमा व्यस्त भएको बताए ।

यसै गरी उनले यति बेला हातमा राम्रो स्क्रिप्ट नआएकाले पनि आफू लगत्तै चलचित्रमा देखिने सम्भावना नभएको खुलाएका छन् । उनले कथाको मामलामा आफू अलि चुजी भएकाले चलचित्रमा काम नगरेको बताएका छन् । डान्सिङ नम्बरको चलचित्र खेल्ने इच्छा रहेको उनी माइकल ज्याक्सनबाट डान्समा प्रभावित छन् । कोरियोग्राफर प्रवीणले पनि सलिन राम्रो डान्सर भएको र आफूले डान्स सिकाएका कलाकारहरूमा उत्कृष्ट डान्सर भएको बताएका छन् ।