पछिल्लो समयको चर्चित साङ्गीतिक रियालिटी सो 'द भ्वाइस अफ नेपाल' को दोस्रो सिजनको ग्रान्ड फिनाले शनिवार राती सम्पन्न भयो । राजधानीको पाँच तारे होटेल ह्यायात परिसरमा आयोजना भएको फिनालेमा सयौँ दर्शक उपस्थित भएका थिए । आफूले मन पराएका कन्टेस्टेन्टको प्रस्तुति हेर्न र ऐतिहासिक क्षणको साक्षी बन्न कार्यक्रम स्थल पुगेका दर्शकलाई सम्हाल्न आयोजकलाई हम्मे हम्मे परेको थियो । यसै गरी सुरक्षा दिन तैनाथ प्रहरीलाई पनि निकै गाह्रो स्थिति उब्जेको थियो । ठुलो सङ्ख्यामा उपस्थित दर्शक कार्यक्रम सुरु हुनु अगावै तँछाडमछाड गर्दै असन्तुलित अवस्थामा पुगेका थिए । ठेलमठेल भिड त्यसमाथि कुर्सी माथि चढेका दर्शक । कोही भाँचिएको कुर्सी समातेर उफ्रँदै थिए त कोही हानाहान गर्दै थिए ।

माहौल सम्हालिन नसक्ने स्थिति आइपर्ने सङ्केत देखिएपछि भ्वाइसका जज राजु लामाले स्टेज चढेर दर्शकलाई शान्त र अनुशासित भइदिन आग्रह गरे । भावुक बनेर स्टेज चढेका उनले केही बेर भावनात्मक कुरा जोड्दै दर्शकलाई सभ्य हुन अनुरोध गरे । उनको अनुरोध, कडा सुरक्षा र आयोजकको पहलले माहौल केही चिसिएपछि कार्यक्रम सुरु भएको थियो । भ्वाइस अफ नेपालको दोस्रो आइकन छानिने दिन टप ४ मा पुगेका सहभागी उनीहरूका कोच लगायत सबैमा छुट्टै किसिमको उत्साह थियो । तर कार्यक्रमको सुरुसँगै उब्जिएको माहौलले कतै कार्यक्रम नै सफल तरिकाले सम्पन्न गर्न सकिने हो कि होइन भन्ने मै शङ्का उब्जिएको थियो । जेनतेन कार्यक्रम सम्पन्न भयो र सिजन २ का विजेता पनि घोषित भए । राम लिम्बुले उपाधि हात पारे । उनको जितको लागी समर्थन गर्न पुगेकी उनकी आमा दर्शक बस्ने ठाउँमा कति बेला छोरालाई भेट्न पाउँला र अङ्गालो हालेर बधाई दिन पाउँला भनेर कुरिरहेकी थिइन् ।

उनले कार्यक्रम स्थल एक फन्को लगाइन् तर छोरालाई तत्काल भेट्न पाउने आस गर्न सकिनन् । किनकि सुरक्षा दिन बसेकाहरूले उनलाई पत्याएनन् र भित्र जान दिएनन् । हातमा खादा बोकेर बसेकी उनले भावुक हुँदै भनिन्, 'छोराले जितेकोमा खुसी छु तर छोराको यो सफलतामा उसको नजिक पुग्न पाउँला जस्तो छैन ।' नेपालमा आयोजना हुने हरेक यस्ता ठुला कार्यक्रम मा केही न केही कमजोरी हुँदै आएको हामीले देखेका छौँ । एक त आयोजकको धेरै दर्शक तान्ने लोभ अर्को त उचित सुरक्षाको कमजोर व्यवस्था । यसमा आयोजकको कमजोरी सुरुमा देखिए पनि अनुशासन को ज्ञान नभएका दर्शक नै मुख्य कारण हुन् भन्दा पनि फरक नपर्ला ।