जेठबाट खस्किएको नेपाली चलचित्रको बजार असोज अन्तिम साता प्रदर्शनमा आएको चलचित्र 'छ माया छपक्कै' र असोज पहिलो साता प्रदर्शनमा आएको 'कबड्डी ३' ले माथि उठाएको थियो । फेरी त्यस पछि नेपाली चलचित्रको व्यापार ओरालो लाग्ने क्रममै छ । आस गरिएका केही चलचित्रले पनि हलसम्म दर्शक तान्न सकेनन् । यसो हुँदा लाखौँ खर्च गरेर निर्माण गरिएका चलचित्रका निर्माता डुबेका मात्रै छैनन् अब चलचित्रमा लगानी गर्न तम्सिएका निर्माता पनि हच्किने स्थिति आएको छ । नेपालका सफल चलचित्र मध्य 'छक्का पन्जा' सिरिज र 'छ माया छपक्कै' निर्माता, कलाकार दीपकराज गिरीले नेपाली चलचित्रमा आएको सङ्कटलाई व्यङ्ग्य गरेका छन् । नेपाली चलचित्र हेर्ने दर्शकको सङ्ख्या हलमा निकै कम भइरहेका बेला उनले आइतबार व्यङ्ग्यात्मक तरिकाले सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् । उनले भनेका छन्, ‘केटा केटीहरू …डेटिङको लागि सुनसान ठाउँ चाहिएको छ ? आजकल जुनसुकै फिल्म हलमा गए पनि हुन्छ… । हरिबिजोग डटकम !’

उनको यस  व्यङ्ग्यलाई कतिले सहमति गनाएका छन् भने केहीले आफ्नो चलचित्रलाई मात्र माथि उठाउन खोज्ने र अरूलाई कमजोर देखाउन खोज्ने आरोप पनि लगाएका छन् । यद्यपि नेपाली चलचित्रको पछिल्ला वर्षको इतिहास हेर्ने हो भने एकाध बाहेकका चलचित्रले नाफा कमाउनु त परको कुरा प्रचारप्रसारको खर्च समेत उठाउन सकिरहेका छैनन् । यसमा निर्माता, निर्देशक, कलाकार मात्र होइन नेपाली चलचित्र सँग जोडिएका हरेकले एक पटक सोच्ने बेला भने आएको छ ।