ऋषिराज आचार्यको निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ को दोस्रो चरणको अडिसन यही मङ्सिर २७ गते हुने भएको छ । चलचित्रको लागी नव कलाकारको छनौट कार्य अडिसनमार्फत गरिने भएकाले गत कार्तिक ३० मा पहिलो चरणको अडिसन सम्पन्न गरी दोस्रो चरणबाट कलाकार फाइनल गर्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । कमेडी जनराको फिल्मका लागि नयाँ अनुहारको माग भएकाले अडिसन मार्फत कलाकार छनौट प्रक्रिया थालिएको निर्देशक आचार्यले बताएका छन् । पहिलो चरणको अडिसनमा दुई सयभन्दा बढी नव प्रतिभा सहभागी भएको र त्यसमध्येबाट केही ‘सर्ट लिस्ट’ मा परेको जानकारी उनले दिएका छन् । ‘अब दोस्रो चरणको अडिसनबाट कलाकार छनौट कार्यले पूर्णता पाउने विश्वास मलाई छ,’ उनी भन्छन्, ‘हामीले फिल्म उद्योगमा नयाँ प्रतिभा उजागर गर्नका लागि पनि अडिसन गरेका हौ ।’ उनले आफ्नो फिल्ममा मुख्य तथा सहायक भूमिकामा समेत नयाँ कलाकारलाई मौका दिने प्रतिबद्धता जाहेर गरेका छन् ।