बहु विवाहको मुद्दा खेपेका निर्माता छविराज ओझा साधारण तारेखमा छुटेका छन् । बहु विवाहको उजुरी दर्ता गरेपछि फरार रहेका निर्माता ओझा मङ्गलवार जिल्ला अदालत काठमाडौँ हाजिर भएका थिए । न्यायाधीश मुकेश उपाध्यायको एकल इजलासमा जिल्ला अदालत काठमाडौँले उनलाई मङ्गलवार तारेखमा छाडेको हो । जेठी श्रीमती हेमा ओझाले आफूसँग डिभोर्स नै नगरी श्रीमान् ओझाले शिल्पा पोखरेलसँग विवाह गरेको भन्दै दुवै विरुद्ध गएको साउन ६ गते प्रहरीमा बहु विवाहको उजुरी दिएकी थिइन् । उनको उजुरीको आधारमा प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ गर्ने अनुमति लिएको थियो । तर दुवै आरोपी फरार थिए । गत कात्तिक अन्तिममा जिल्ला अदालत काठमाडौँमा हाजिर भएकी शिल्पालाई पनि अदालतले साधारण तारेखमा छाडेको थियो । ओझा विरुद्ध शिल्पाले प्रहरीमा घरेलु हिंसाको उजुरी दिएपछि सुरु भएको दुईको विवाद डिभोर्ससम्म आइपुगेको थियो । दुवै बिच सहमति भए पनि शिल्पाले श्रीमान् ओझाको आधा अंश माग गर्दै जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएकी थिइन् । दुईको विवादका बिच छविकी जेठी श्रीमतीले बहु विवाहको मुद्दा दायर गरेकी थिइन् ।