आफ्नो विचार र सामाजिक सञ्जालमा राख्ने स्ट्याटसको कारण बेला बेलामा चर्चामा आइरहने अभिनेत्री करिष्मा मानन्धरले फेरी एक पटक सबैलाई सोच्ने बनाएकी छिन् । उनले मङ्ग्लबार राती सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस राखेकी थिइन् जसमा गुनासो र असन्तुष्टि मिसिएको छ । उनले स्ट्याटसमा आफू एक चलचित्रको अन्तरक्रिया कार्यक्रममा सहभागी भएको र कार्यक्रममा एक वक्ताले नेपाली चलचित्रको इतिहास ५० वर्षको नभएर १० वर्षको मात्र भएको विचार राखेको लेखेकी छिन् । उनी थप्छिन्, नेपाली चलचित्रको इतिहास मात्र १० वर्षको भए त्यस अघिका कलाकार चलचित्र र सर्जक अस्तित्वमा नै नभएको हो त ? भन्ने प्रश्न उठाएकी छिन् ।
उनी विस्तृतमा लेख्छिन्, "आज एउटा सिनेमाको विषयको अन्तरक्रिया कार्यक्रममा सहभागी भयेको थिए , नेपाली चलचित्रका विभिन्न पक्ष हरूको सकारात्मक र नकारात्मक विषय बारे छलफल भयो , वक्ता सहभागीहरूमा नयाँ र पुराना दुवै समयका चलचित्र कर्मीहरू थियौ , खुबी र कमी कमजोरी हरेक क्षेत्रमा हुन्छन् ।
मैले यो लेखिरहनुको अर्थ किनभने ,
एक वक्ताले के भन्नू भयो भने सिनियरहरूले भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० वर्षको छ तर म मान्दिन, र वहाँको विचारमा साच्चिकै ( रेअल ) नेपाली चलचित्रको इतिहास मात्र १० वर्षको भयो भन्नुभयो। ( त्यसो भए के त हामी अस्तित्वमा थिएनौँ ? हामीले भोगेको घाम ,पानी, भोक, तिर्खा , बेमतलब ? )
अब म पनि चलचित्र क्षेत्रमा लागेको ५० वर्ष भएको छैन ! अनि के म नेपाली चलचित्रको इतिहास ३० वर्षको मात्रै हो भनु ?
अनि जब वहाहरु विस्थापित हुनुहुनेछ ! नयाँ आउने पुस्ताले आफू सुरु भए देखिको मिति गन्ने ?
ल दसै वर्ष देखि साच्चिकै नेपाली चलचित्र बन्न थाले रे !
तर म त खोइ आठ , दस वटा भन्दा बढी चलचित्रको नाम गन्न सक्दिन जुन उत्कृष्ट थिए ? जबकि हरेक वर्ष सयौँ चलचित्र बन्छन् !
तर ९० - २००० को दशकमा नेपाली चलचित्र क्षेत्रमा जति चलचित्र हल मालिक , वितरक , निर्माताहरू चलचित्र क्षेत्रमा दिगो तवरले स्थापित भए आज पनि वहाहरुकै राज छ ।
त्यसैले इतिहासलाई टेकेर हामी उभिएका छौ यो नभुलौँ !
सङ्कुचित सोच नराखौँ , सबैको अस्तित्वको सम्मान गरु ।
र अन्त्यमा दीपक राज गिरी जीले शिव रेग्मी प्रति देखाउनु भयेको श्रद्धा सकारात्मक संस्कृति को उदाहरण हो ।"
उनले नेपाली चलचित्रलाई स्थापित गराउन अघिल्लो पुस्ताका कलाकारले गरेको सङ्घर्ष को कुनै अर्थ नरहेको ठान्ने हरूलाई आफूले टेकेको धरातल बिर्सनु नहुने भनेकी छिन् । चलचित्रको विकास र यसको यसलाई उद्ध्योगको रूपमा स्थापित गर्ने विषयलाई लिएर बहस भइरहेका बेला आफूलाई चलचित्र क्षेत्रको बादशाह सम्झने र सम्पूर्ण जस आफ्नो खल्तीमा हाल्न चाहने एकाध व्यक्ति माथिको यो प्रश्नले सम्पूर्ण चलचित्र क्षेत्रलाई प्रतिनिधि गर्ने व्यक्तिहरूले एक पटक सोच्नु पर्ने भएको छ ।