यस वर्ष रिलिज भएको शाहिद कपुर स्टारर चलचित्र ‘कबिर सिंह’ बक्स अफिसमा निकै सफल भयो । शाहिदको फिल्मी करीयरमा यस चलचित्र अर्को कोशे ढुङ्गा साबित भयो । उनको अभिनयलाई दर्शकले मन खोलेर प्रशंसा गरेका थिए । अचम्मको कुरा त त्यति सफल मानिएको चलचित्रले अहिलेसम्म एउटा पनि अवार्ड हात पार्न सफल भएको छैन । हालै एक अवार्ड समारोहमा शाहिदले अवार्ड नपाएपछि कार्यक्रमको बिचबाटै उठेर हिँडेको खबर बाहिरिएको छ । अवार्ड समारोहमा शाहिदको परफर्मेन्स पनि रहेको थियो । तर रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कार्यक्रम छोडेर गएका थिए । स्टार स्क्रिन अवार्डस २०१९ मा उत्कृष्ट अभिनेताको उपाधि 'गली ब्वाई' बाट रणवीर सिंहले हात पारेका थिए । शाहिदले कार्यक्रम छोडेर हिँडे पछि उनको ठाउँमा अभिनेता वरुण धवनले प्रस्तुति दिएका थिए ।