एक दशक अघि सविन कार्कीको परिकल्पनामा स्थापना भएको डान्स ग्रुप 'कार्टुन  क्रु'ले आजसम्म आइपुग्दा धेरै उतारचढाव खेपेको छ । योसँगै दर्शकको माया पनि उत्तिकै पाइरहेको छ । स्थापना कालामा ७ जनाको समूहलाई सविनले नेतृत्व गर्थे । विभिन्न कारणले उनी ग्रुपबाट बाहिरिए । भन्नलाई जे भने पनि उनलाई अप्ठेरो लागेको थियो सरोजको व्यवहारले । सविन निस्किएपछि सरोजको नेतृत्वमा आश्मा, लाक्पा, राम, विकाश र सुविनले लगातार भिडियोको काम गरिरहेका थिए । यो ग्रुपको डान्स र भिडियोले दर्शकको मन जितिरहेको थियो । बिचमा विकास टिमबाट निस्किए र उनको ठाउँमा आए साजन चौहान । यो ग्रुपले बजारमा राम्रो ठाउँ लिइरहेको थियो । कभर भिडियोबाट यात्रा सुरु गरेको क्रुले म्युजिक भिडियोहरुमा पनि राम्रो छाप छाडिरहेको थियो । क्रुका भिडियोले युट्युबमा लाखौँ भ्यूज कमाउन थाले भने सरोज र आश्मा सेलिब्रेटी बनिसकेका थिए । उनीहरू टिम बाहिरको काममा पनि हात हाल्न थाले । यी दुई सेलिब्रेटी बन्दै गर्दा टिमका अरू सदस्यलाई मनमा नमिठो आभास हुन थालिसकेको थियो ।

एउटै ग्रुपमा, उत्तिकै मेहनत साथ काम गर्ने कोही सेलिब्रेटी बनिसकेका थिए भने कोही ब्याक्ग्राउण्ड डान्सरको हैसियतले काम गरिरहेको अनुभव गर्थे । साथमा ग्रुपलाई लिड गरिरहेका सरोजबाट पनि त्यस्तै व्यवहार भएको आभास भएपछि उनीहरूको मनले त्यस ठाउँमा बसिरहन दिएन । फलस्वरूप सरोज र आश्मा बाहेक चार जनाले कार्टुन क्रुबाट बिदा लिए ।  सबैभन्दा पहिला क्रुका लाक्पा डी लामाले समूह छाडे । उनले आफ्नो युट्युब च्यानलबाट एक भिडियो पोस्ट गर्दै क्रु छाडेको जानकारी दिए । त्यहाँ उनले आफूलाई आफूलाई समूहको कुनै साथ नभएको र आफू ब्याक ग्राउन्ड डान्सरको रूपमा सीमित रहेकाले क्रु छाडेको उल्लेख गरेका छन् । उनले आफू क्रुमा बसेर राम्रो भविष्य नरहेको सोची छोड्ने निर्णय गरेको भनेका छन् । साथै सुरुमा आफू केही समय ब्रेक लिन चाहेको र आफ्नो युट्युब च्यानललाई स्थापित गराएर पुनः काममा फर्किने सोच बनाएको भए पनि सरोजले आफूलाई नबुझेको भनेका छन् । यो भिडियो सार्वजनिक भएपछि सरोज र आश्माले भिडियो बनाएर कार्टुन क्रुको युट्युब च्यानलमा पोस्ट गरे । जहाँ उनीहरूले लाक्पा, राम, सुविन र साजनले समूह छाडेको उल्लेख गरेका छन् । सरोज र आश्माले उनीहरूलाई कोरसको रूपमा मात्र नराखेको पनि भिडियोमा बोलेका छन् । आफूलाई सार्वजनिक रूपमा उनीहरूले छोड्नुको कारण सोधिएकाले भिडियो बनाएको प्रस्ट पारेका छन् । साथमा लाक्पाले आफ्नो स्वास्थ्य अवस्था ठिक नभएको उल्लेख गरेको पनि बताएका छन् ।

उनीहरूको भिडियो सार्वजनिक भए पछि क्रु छोडेका ४ जनाले एउटा भिडियो सार्वजनिक गरेका छन् । जसमा लाक्पा, राम, सुविन र साजनले सरोज र आश्माप्रति निकै तितो पोखेका छन् । टिम मेम्बरको रूपमा सहकार्य गरेका उनीहरूले युट्युबबाट कमाएको पैसाले बनाएको डान्स स्टुडियोको कमाइ र अन्य युट्युब रिभेन्युको हिसाब कहिल्यै सार्वजनिक नगर्ने र आश्माको पर्सनल ब्याङ्क अकाउन्टमा सिधै जम्मा गर्ने गरेको बताएका छन् । उनीहरू भन्छन्, 'बाहिरबाट हेर्दा जति राम्रो सामीप्य देखिन्छ त्यो छैन । क्रु भित्र भित्रै खोक्रो भइसकेको थियो' । सरोज र आश्माले छुट्टिँदा पैसा बराबर बाँडेको भनेका छन् भने चार जनाले त्यो सही नभएको बताएका छन् । सट्टामा डेढ वर्षसम्मको कमाई स्वरूप आफूले ५० हजार मात्र पाएको गुनासो पोखेका छन् । टिमको पैसा बाँड्नु त परै जाओस् आफूले गरेको दुखको पैसा पनि सहजै नपाएको भनेका छन् । उनीहरूले भिडियोमा आफूले रहरले कार्टुन क्रु नछोडेको बताएका छन् । यसै गरी सरोज आष्माले पनि आफूहरूले कहिल्यै उनीहरूलाई नराम्रो नसोचेको बताएका छन् ।