'द भ्वाइस अफ नेपाल' सिजन २ मा टप ४ मा पर्न सफल सनिश श्रेष्ठले उपाधि पाउनेमा धेरैले आशा गरेका थिए । उनको आवाजलाई दर्शकले मन पराएका मात्र थिएनन् भोट पनि गरेका थिए । तर भ्वाइसको सिजन २ को उपाधि अर्का प्रतिस्पर्धी राम लिम्बुले हात पारे । रामले जित्दै गर्दा सनिशले आफूले हारेको कहिल्यै महसुस गरेका छैनन् । उपाधि त अवश्य एउटाले पाउने हो तर दर्शका श्रोताको मायाले नै हो एउटा गायकलाई युगौँसम्म बचाउने । उनले त्यही माया मन भरी पाएका छन् । भ्वाइसको समापन सँगै उनी सबैले दिएको त्यो मायालाई कसरी आफ्नो आवाज मार्फत व्यक्त गर्ने भन्ने सोचिरहेका छन् । बुधवार भ्वाइसले सम्पूर्ण टिमलाई यो सिजनबाट आधिकारिक रूपमा बिदा गर्यो । यसै क्रममा बोल्दै उनले आफूले पाएको मायाले अगाडी बढ्न निकै सहयोग गर्ने बताएका छन् । भवाइसको समापन सँगै साङ्गीतिक यात्रालाई कसरी अगाडी बढाउने सोचिरहेका उनी भन्छन्, 'अब लगातार गीत सङ्गीतलाई नै पुरा समय दिनेछु' र राम्रो गीत सङ्गीत सृजना गर्ने कोसिस गर्छु, यो मायालाई त्यसै खेर जान दिनेछैन' । उपाधि आफूले नपाए पनि राम र आफू बिच निकै राम्रो सम्बन्ध रहेको बताउँछन् ।
उनी भन्छन्, हामी निकै मिल्ने साथी भैसकेका छौँ । सनिशले गीत गाएर मात्र चर्चा कमाएनन् । उनी सामाजिक सञ्जालमा सबै भन्दा धेरै ट्रोल हुने भ्वाइसका प्रतिस्पर्धी पनि हुन् । कहिले गीतको लिरिक्स बिर्सिँदा होस् या कहिले उनको एक्स्प्रेसनले पछिल्लो समय उनी निकै ट्रोल बने । तर उनी यसले आफूलाई निकै खुसी बनाएको बताउँछन् । आफू दर्शकले त्यसरी याद गर्ने ठाउँमा पुगेछु भन्ने सोचेर खुसी भएको उनको भनाइ छ । कुनै पनि ट्रोलले उनलाई रिस उठाएन बरु आफ्नो ट्रोल हेर्दै हाँसेर बसे । उनी भन्छन्, 'जजले छान्ने राउन्डमा हुँदा सम्म आफूलाई डर लाग्ने गरेको तर लाइभ राउन्डमा पुगेपछि दर्शक श्रोतालाई आफू डिजर्भिङ छु भन्ने लागेमा अवश्य भोट आउनेछ भन्ने सोचेर आफूलाई अलि सहज भएको थियो' । उनका अनुसार उनी भन्दा राम डिजर्भिङ देखेरै दर्शकले उनलाई जिताएका हुन् । तर उनले पाएको माया पनि निकै ठुलो जित हो भन्नेमा उनी विश्वास गर्छन् । आफूलाई यो ठाउँसम्म ल्याउन सहयोग गर्ने उनका कोच राजु लाई जीवनभर सम्मान गर्ने उनले बाचा गरेका छन् ।