'कामना फिल्म अवार्ड'को पाँचौँ संस्करण पुस १९ गते हुने भएको छ । अवार्ड कार्यक्रम ललितपुरको सानेपा स्थित हेरिटेज गार्डेनमा हुने छ । सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्र कर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको अवार्डमा यो वर्ष २६ विधा समावेश छन् । यी बाहेक एसएमएस भोटिङका आधारमा ‘नम्बर वन पपुलर च्वाइस अवार्ड’ पनि प्रदान गरिने भएको छ । ‘नम्बर वन पपुलर च्वाइस अवार्ड’का लागि नायिकाहरू वर्षा राउत, सृष्टि श्रेष्ठ, साम्राज्ञी राज्य लक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तिमा खड्का मनोनयनमा परेका छन् । अवार्डमा चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दा पछाडि बसेर नेपाली चलचित्रको विकासमा योगदान पुर्‍याउने एक/ एक जना चलचित्र कर्मीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले बताएको छ । जसको पुरस्कार राशि जनही १ लाख रहेको छ ।

'सम्मान चलचित्रको : उत्सव उत्कृष्टता'को नारा सहित आयोजना हुने अवार्ड कामना न्युज पब्लिकेसन्स्ले चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्घ संस्था तथा विज्ञहरूसँगको बृहत् छलफलपछि प्रत्येक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्याङ्कन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्याङ्कन गर्नेछन् । त्यस्तै निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ। सङ्गीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्डसमेत प्रदान गरिनेछ ।