कलाकार शिवहरि पौडेलको निर्देशनमा बन्ने चलचित्र ‘लक्का जवान’को रिलिज मिति परिवर्तन गरिएको छ । आगामी चैत ७ गतेलाई रिलिज लक्ष राखेको चलचित्र अब चैत २१ गते प्रदर्शनमा आउने छ । कमेडी जनरामा निर्माण हुने चलचित्र 'लक्का जवान' चर्चित हास्य सिरियल ‘जिरे खुर्सानी’ निर्देशन गरेर चर्चा कमाएका शिवहरिको यो पहिलो फिचर फिल्म हो । वितरक गोपाल कायस्थले चलचित्र सरेको जानकारी दिएका हुन् । वितरकको सल्लाह अनुसार फिल्मको प्रदर्शन मिति सारिएको निर्माण पक्षले जानकारी दिएको छ । ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतिमा बन्ने चलचित्रमा किरण केसी, दिलीप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रूपमा छन् । सुरेन्द्र केसी र दीपेन्द्र खनिया चलचित्रका सह–निर्माता हुन् । चलचित्र ‘आमा बङ्गलामुखी फिल्म प्रोडक्सन’को ब्यानरमा बन्ने छ । 'लक्का जवान'मा किरण केसी, दिलीप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतको अभिनय रहने छ ।