पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीत सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको चलचित्रको पहिलो गीत  ‘तिम्रो घरको वरिपरि’मा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अहिलेका चर्चित सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा खिचिएको गीतको भिडियोमा पल र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । सात दिन लगाएर खिचिएको रोमान्टिक गीतमा पाँच सयभन्दा बढी कोरसको नृत्य देख्न सकिन्छ ।

सौरभ लामाले खिचेको गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । सुदर्शन थापाको निर्देशनमा बन्ने चलचित्रको अन्तिम छायाङ्कन भइरहेको छ । साङ्गीतिक प्रेमकथामा आधारित रहने यस चलचित्रमा  दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुनेछ ।