चलचित्र निर्देशक समाजको यहिं आउँदो मङ्सिर २८ गते निर्वाचन हुँदै छ । नयाँ नेतृत्वका लागि हुन गइरहेको निर्वाचनमा अध्यक्ष पदमा निर्देशक तथा संचारकर्मी दिनेश डिसीले उम्मेदवारी दिने भएका छन् । यसै गरी वर्तमान अध्यक्ष सुचित्रा श्रेष्ठ पनि दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उठ्ने तयारीमा छिन् । तर, उनले पनि उम्मेदवारी घोषणा भने गरेकी छैनन् । त्यस्तै, केपी पाठक, रक्षा सिंह राणा, लक्ष्मण रिजाल, दीपक खाँड, शेखर खनाल र ऋषि लामिछानेको नाम पनि अध्यक्ष पदका लागि चर्चा छ ।

निर्वाचन मिति नजिकिँदै जाँदा निर्देशकहरू विभिन्न पदमा आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यसै गरी उपाध्यक्ष पदमा निर्देशक राजेन्द्र उप्रेती उम्मेदवारी दिने तयारीमा छन् । भने, महासचिवमा जनक दीप पराजुली र समीर बलामीले उम्मेदवारी घोषणा गरिसकेका छन् । महासचिव पदमा उठ्न लागेका पराजुलीले आफ्नो उम्मेदवारी घोषणासँगै प्रतिबद्धता पत्र पनि सार्वजनिक गरिसकेका छन् । साथमा सचिव पदमा भने जनक खड्का र अरुण प्रधानको भिडन्त हुने बताइएको छ ।