नायिका ऋचा शर्मा र दिपेक्ष विक्रम राणा गत शनिवार विवाह बन्धनमा बाँधिएका थिए । परिवार र एकदमै नजिकका व्यक्तिको उपस्थितिमा दुईले विवाह गरेका थिए । फिल्म इन्डस्ट्री र मिडिया कर्मीलाई उनीहरूले बिहीबार रिसेप्सन पार्टी दिएका थिए । पार्टीमा नव दम्पतीले मिडियासँग अन्तरक्रिया गर्दै नयाँ वैवाहिक जीवनको अनुभव सुनाएका छन् । विवाह गरेको पाँचौँ दिन सम्मको अनुभव सुनाउँदै ऋचाले आफू निकै भाग्यमानी भएको महसुस गरेको बताएकी छिन् । विवाहको दिन सम्झँदै उनी भन्छिन्, 'जति सुकै बोल्ड भए पनि रुँदिन भने पनि आफूलाई जन्म दिने आमाबुवा र जन्म घर छोडेर जान बेलामा आँसु आउने रहेछ' । उनले पनि आफू नरुने सोचे पनि अन्मिएर जाने बेलामा मन थाम्न नसकेको  बताएकी छिन् ।

निकै माया गर्ने र आफ्नो फिल्मी क्षेत्रलाई राम्रोसँग बुझ्ने परिवार पाएकोमा ऋचा खुसी छिन् । घरमा बुहारी नभएर छोरीको रूपमा भित्रिएको र समाजमा बुहारीले गर्ने काम भनेर छुट्टाएका कुनै काम गर्न नपर्ने र सबै भन्दा ठुलो कुरा आफ्नो काममा हस्त छेप नहुने भएपछि अरू केही नचाहिने बताउँछिन् । यसै गरी दिपेक्षले पनि विवाह पश्चात् ऋचालाई चलचित्र छेत्रमा काम गर्न कहिले पनि नरोक्ने वा कुनै खालको दबाब नदिने बताएका छन् । उनका अनुसार काम, करियर र माया छुट्टै हुन् त्यही भएर कामसँगै माया अगाडी बढ्ने छ । ऋचा केही दिनमै सुटिङमा लाग्नेछिन् भने समय मिलाएर आफूहरू रारा र मुस्ताङ जाने प्लान भएको पनि बताएका छन् ।