अभिनेता विपिन कार्की अभिनीत चलचित्र ‘सेल्फी किङ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘जाली रुमाल’ बोलको लोक फ्लेवरको गीतमा अभिनेत्री केकी अधिकारी र डान्स ग्रुप भिमफेदी गाइजले नृत्य गरेका छन् । अञ्जु पन्त र पुरुषोत्तम प्रधानको स्वर रहेको गीतमा बि पाण्डेको शब्द र सुवास भुसालको सङ्गीत रहेको छ । विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको यस चलचित्रको सार्वजनिक गीतको भिडियोमा केकीलाई नेपाली फिल्मकी अभिनेत्रीको रूपमा प्रस्तुत गरिएको छ जो आफ्नो प्रस्तुतिको लागी सोलुखुम्बु पुगेकी हुन्छिन् । सेल्फी किङ’को नामले परिचित एक चर्चित हास्य कलाकार(टेलिभिजन)ले कला यात्राको दौरान आफूले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने सङ्घर्षको कथा बोकेको चलचित्रमा विपिन कार्कीले गोपाल दाहाल अर्थात् हास्य कलाकारको भूमिका निर्वाह गरेका छन् ।

चलचित्र आगामी माघ २४ मा अल नेपाल प्रदर्शनमा आउने छ ।  चलचित्रमा विपिनका अलावा चलचित्रमा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश बिसुरालगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारी विशेष भूमिकामा देखिने छिन । चलचित्र ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा निर्देशक विशालकै लेखन, सुसन प्रजापतिको छायाङ्कन, जीवन थापाको सम्पादन रहेको छ ।