चलचित्र ‘चालबाज’को गत शुक्रवार दार्जिलिङको मिरिकमा शुभ मुहूर्त गरिएको थियो । कैलाश राईले निर्देशन गर्ने चलचित्रलाई अरुण तामाङले निर्माण गर्ने चलचित्रमा नव–कलाकार अविनाश प्रधानको मुख्य भूमिका रहने टुङ्गो लागेको थियो । तर उनले आफ्नो घरायसी कामका कारण फिल्म गर्न नसक्ने भएपछि उनको ठाउँमा पुष्प खड्काको इन्ट्री भएको छ । पुष्पले चलचित्रमा आफ्नो भूमिका मन परेको र पारिश्रमिक पनि राम्रो पाएकाले काम गर्न तयार भएको बताएका छन् । कमेडी कथामा बन्न लागेको चलचित्रलाई लिएर उत्साहित रहेको बताउने पुष्प आफ्नो भूमिका चुनौतीपूर्ण रहेको बताउँछन् । दार्जिलिङमा छायाङ्कन भइरहेको चलचित्रमा पुष्प अभिनेत्री केकी अधिकारीसँग स्क्रिन साझेदारी गर्दै छन् ।
चलचित्रमा केकी र पुष्पको साथमा बुद्धि तामाङ, महेन्द्र बागदास, चाँदनी प्रधान, सान्तिला तामाङको पनि अभिनय रहने छ । चलचित्रमा सौरभ लामाको छायाङ्कन, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, दीपक शर्मा र अगोम गुरुङको सङ्गीत, विपिन किरणको शब्द रहनेछ । चलचित्रका प्रोडक्शन म्यानेजर सुदिप ढकाल हुन् । चलचित्र सस्पेन्स लभ स्टोरी कथामा निर्माण हुने निर्माण पक्षले जानकारी दिएको छ ।