वरिष्ठ कलाकार दीपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षीय क्षेत्री शनिवार डिल्लीबजारको आफ्नै डेरामा सुतेको अवस्थामा मृत भेटिएका हुन् । उनको मृत्यु हुनुको कारण भने खुलेको छैन । अहिले उनको शव महाराजगंज स्थित त्रि ।बि । शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ । श्रीमती विपना बस्नेत छोरीसँग देश बाहिर भएका कारण कलाकार क्षेत्रीको आइतबार मात्र अन्त्येष्टि गरिने भएको छ ।

गत वर्ष स्वर नलीमा मासु पलाएपछि शल्यक्रिया गरिएको थियो । कलाकार क्षेत्रीको निधनको खबर पुष्टि गर्दै कलाकार उत्तम केसीले शुक्रवार साँझ उनी एक चलचित्रको स्वरांकन सकेपछि डिल्लीबजारमा रहेको घरमा आफ्नो कोठाको चुकुल लगाएर सुतेका र शनिवार बिहान छेत्रीका छोराले धेरै प्रयास गर्दा पनि कोठा नखुलेपछि प्रहरीलाई बोलाएर ढोका फोडेर हेर्दा उहाँलाई मृत्यु अवस्थामा भेटिएको बताएका छन् । दर्जनौँ नेपाली चलचित्रमा खलनायक र विभिन्न भूमिकामा अभिनय गरेका कलाकार दीपक क्षेत्रीले सयभन्दा बढी चलचित्रमा काम गरेका छन् ।