किम्फको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा तर्फको प्रथम पुरस्कार माइकल सुलिमाको चलचित्र‘पियानो टु झंस्कर’ ले जितेको छ । यस चलचित्रले दुई लाख रुपैयाँको पुरस्कार राशि हात पारेको छ । यसै गरी कलानी जाकोनको ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ले दोस्रो स्थान हात पारेको छ । ‘जर्नी टु द सेन्टर अफ द हर्ट’ले एक लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै मार्गा गुटेरिजको ‘रोप्स्’ ले तेस्रो स्थान हात पारेको छ । नेपाल पानोरामा अन्तर्गत केदार श्रेष्ठको ‘जुनुको जुत्ता’ उत्कृष्ट कथानक (फिक्सन) र प्रणवनारायण मानन्धरको ‘पोट्रेड अफ माने’ गैर–कथानक (ननफिक्सन) चलचित्र घोषित भएका छन् । पुरस्कार स्वरूप क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस वर्षको उत्कृष्ट साहसिक पर्वतीय चलचित्र जोस्ट भानको ‘ड्रोम्मेल्याण्ड’ हुन सफल भएको छ। उत्कृष्ट चलचित्रलाई पासाङ ल्यामु शेर्पा फाउन्डेसनबाट एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ ।
धोडुप छिरिङको ‘आमा खान्डो’ ले सबैभन्दा बढी दर्शकहरूको रोजाइमा परेर ‘अडियन्स अवार्ड’ जितेको छ । मुस्ताङको परिवेशमा खिचिएको यस चलचित्रमा आमा र सन्तानको मार्मिक सम्बन्धलाई प्रस्तुत गरिएको छ। चलचित्रले ७५ हजार रुपैयाँको राशि जितेको छ । यस पटक किम्फले आयोजना गरेको ‘परिवर्तित नेपाल’ शीर्षकको तीन मिनेटको सर्ट चलचित्र प्रतियोगितामा नव विजय प्रकाश श्रेष्ठको ‘एकता’ पहिलो, भिरा फिल्म्स्को ‘अल्टर द चेन्ज’ दोस्रो र दीपक सुब्बाको ‘द रेड स्काफ’ तेस्रो हुँदै क्रमशः ४० हजार, ३० हजार र २० हजार जिते । महोत्सवमा ‘परिवर्तित नेपाल’ छनोट भएका उत्कृष्ट १० फिल्म प्रदर्शन भएका थिए ।