आज पुस १ गते नेपाली कला क्षेत्रका तीन हस्तीको जन्म दिन परेको छ । आज लोकप्रिय गायक सङ्गीतकार कालीप्रसाद बास्कोटा, अभिनेत्री केकी अधिकारी र चर्चित अभिनेता आयुष्मान देशराज जोशीको जन्म दिन परेको छ । कालीप्रसाद बास्कोटा आज आफ्नो ४०औँ जन्म दिन मनाउँदै छन् । ‘रेसम फिलिली’ को ‘पिरतीको छाता ओढाउन’ होस् कि ‘लूट २’ को ‘लैजाऊ घुमाउन मलाई ठमेल बजार’, '४० कटेसी रमाउला' लगायत उनका निकै रुचाइएका गीतहरू हुन् । पछिल्लो समय उनी ‘नेपाल आइडल’ को जजको रूपमा पनि काम गरिरहेका छन् । यसै गरी  अभिनेता आयुष्मान देशराज जोशी आज आफ्नो २७औ जन्मदिन मनाउँदै छन् । चलचित्र 'चपली हाइट २' बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेका आयुष्मान यति बेला अभिनेत्री प्रियंका कार्कीसँग प्रेम सम्बन्धमा छन् उनीहरू विवाहको तयारीमा समेत छन् ।

आयुष्मानलाई सर्प्राइज दिन प्रियंका सोमबार बेलुका नै बिर्तामोडबाट काठमाडौँ आएकी छिन् । उनी एनसेलको कार्यक्रममा बिर्तामोडमा थिइन् । साथमा आज जन्म दिन पर्ने कलाकार हुन् केकी अधिकारी । जो चलचित्रको पर्दामा त्यति सफल नदेखिए पनि नेपाली चलचित्र क्षेत्रकी पछिल्लो समयकी रुचाइएकी र व्यस्त नायिका हुन् । उनी आज आफ्नो ३१ औँ जन्मदिन मनाउँदै छिन् । पछिल्लो समय कमेडी रियालिटी सो 'कमेडी च्याम्पियन' सुरु गरेकी उनी यति बेला चलचित्र 'झिंगेदाउ'को छायाङ्कनमा व्यस्त छिन् ।