आइएमई नेपाल साहित्य महोत्सवको चौथो दिन अर्थात् अन्तिम दिन सोमवार चलचित्र सम्बन्धी सेसन सफलता पूर्वक सम्पन्न भयो । पोखराको तालबाराही चोक, लेक साइडमा आयोजित महोत्सवमा चलचित्र कर्मीले चलचित्रका पात्र कसरी खोज्छन् ? अभिनेताले कुनै पात्रको भूमिका निर्वाह गर्नुअघि के के तयारी गर्छन् ? भन्ने विषयमा छलफल भयो । 'पात्रको तयारी' नाम दिइएको यस सेसनमा विपिन कार्की, सुरक्षा पन्त र सौगात मल्लले बहस गरेका थिए । उनीहरूले फिल्ममा पात्रको भूमिका निर्वाह गर्न अपनाएका र गरेका सङ्घर्षको बारेमा सुनाए । यसै गरी संचारकर्मी स्वेच्छा राउतसँगको अन्तर्क्रियामा अभिनेता मल्लले पात्रको छनोट गर्दा आफूले मौलिकता खोज्ने बताए । उनले भने, ‘पात्रको छनोट गर्दा उनीहरूलाई बताउँदिनँ । तर, उनीहरूको मौलिकता आफूमा उतार्ने कोसिस भने गर्छु ।’
अभिनेता विपिनले पनि काम गर्दा आफूमा ‘विपिन’ नै खोज्ने बताए । उनी भन्छन्, ‘हामीले गर्ने अभिनय सबै एउटै हो । तर, म प्रत्येक स्क्रिप्टपछि म त्यसमा विपिनलाई उभ्याउँछु । त्यसले गर्दा अरूभन्दा भिन्न बन्न जान्छ’ । कलाकार सुरक्षा पन्तले ‘ नेपाली चलचित्र क्षेत्रमा महिला कलाकार स्पेस नपाए पनि फरक पर्दैन । तर, कथा वाचक आउनै पर्छ । जसले फिल्म क्षेत्रबारे इमानदार भएर बोल्छ ।’ भन्दै नेपाली चलचित्र क्षेत्रमा ‘कथा वाचक’ महिला आउन जरुरी रहेको बताइन् । उनले आफूले निभाउने पात्रको भूमिका आफ्नै जीवनबाटै सिक्ने गरेको सुनाइन् । तर, उनले पात्रको तयारी गर्न कथामा द्वन्द्वको खोजी हुनुपर्नेमा जोड दिएकी छिन् ।