मिथिला शर्मा र सुरक्षा पन्तको मुख्य भूमिका रहेको चलचित्र 'आमा'को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । दिपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्रमा मिथिला शर्मा आमाको भूमिकामा छिन् भने सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । महाशिवरात्रीको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको चलचित्रले आमा-छोरीको कथा भन्छ । नेपाली समाजमा आमा-बाबुको निधनमा छोराले मात्र दागबत्ती दिने मान्यता छ तर यस चलनलाई चुनौती दिँदै छोरीले पनि आमा बुवाको अन्तिम संस्कार गरेको उदाहरण केही देखिन थालेका छन् । यसै विषय वस्तुमा रहेर चलचित्र बनेको छ । आमा बुवाको लागी छोराले निभाउने कर्तव्य छोरीले पनि उसैगरी निभाउनु पर्ने सन्देश ट्रेलरले दिएको छ । चलचित्रमा मिथिला र सुरक्षाका साथमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ ।