सामान्यतया चलचित्र भनेपछि यथार्थलाई बठ्याइँ पूर्वक प्रस्तुत गरिने कुरा हो भन्ने कुरा आम मानिसको सोचाइमा छ । तर कहिलेकाहीँ चलचित्रमा देखाउनु पर्ने कुरा बठ्याइँले मात्र पुग्दैन कलाकार र सम्पूर्ण चलचित्रको निर्माण टिम यथार्थमा उत्रनु पर्ने हुन्छ । किनकि बठ्याइँ गरिएका कुरा कतिपय ठाउँमा मनसम्म पुग्न सफल हुँदैनन् र त्यसको असर स्वतः चलचित्रको सफलतामा पुग्न जान्छ । बिहीबार राजधानीमा एक कार्यक्रम बिच चलचित्र 'आमा'को ट्रेलर सार्वजनिक गरियो । चलचित्रमा मिथिला शर्मा आमाको भूमिकामा छिन् भने सुरक्षा पन्त छोरीको भूमिकामा छिन् । चलचित्रले आमा-छोरीको कथा भन्छ । यसै चलचित्रका लागी नायिका पन्तले कपाल नै मुन्डन गर्नु पर्यो । हुन त आजको जमानामा कपाल मुण्डनको विकल्प पनि थिए तर उनले चलचित्रमा भएको आफ्नो भूमिकालाई मनबाट अनुभूति गर्न कपाल मुण्डन नै रोजिन् । ट्रेलर रिलिज कार्यक्रममा कपाल मुण्डन गर्दाको क्षण सम्झिँदा सुरक्षाका आँखामा आँसु थामिएनन् ।
उनको टाउकोमा कपाल हात भरिको भैसकेको छ तर कपाल खौरिँदाको त्यो क्षण अझै उस्तै ताजै छ मनमा जसले उनलाई चलचित्रको पर्दामा देखाउन गरेको अभिनय वास्तविक जीवनमा आफैसँग हिँडिरहेको छाया जस्तो बनिदिएको छ । उनले सेटमा कपाल मुण्डन गर्दा अप्ठेरो परेको अवस्था सम्झिँदै भनिन्, 'मलाई कपाल मुन्डन गरिरहँदा गाह्रो भइरहेको थियो । साथमा कपाल मुण्डन गर्ने ब्लेडले पनि उति काम गरिरहेको थिएन । आफूलाई सम्हाल्न निकै गाह्रो भइरहेको थियो । कपाल काट्न गाह्रो भएको देखेर एक जना बुवा आउनुभयो र मेरो कपाल मुन्डन गरिदिनु भयो । उहाँले निकै मायाले कपाल मुन्डन गरिदिनु भयो । उहाँको मायाले नै मलाई भावुक बनाएको थियो तर आफूलाई सम्हाल्न सजिलो पनि भएको थियो । कपाल मुन्डन गर्दिएपछि बुवाले मलाई फिल्ममा यस्तो पनि गर्नुपर्ने रहेछ है भन्नु भयो र अङ्गालो हाल्नु भयो । जुन क्षण मेरा लागी सबैभन्दा गाह्रो र खुसी को क्षण रहेको थियो ।' यसका साथै सुरक्षाले यस चलचित्रमा अभिनय गर्दा आफू निकै डुबेको र चलचित्रको काम सक्काउँदा पनि त्यसको छाप आफूमा लामो समय बसेको सुनाइन् ।
अभिनेत्री मिथिला शर्माको लागी पनि यो चलचित्र निकै महत्त्वपूर्ण छ । उनले लामो समयसम्म दर्शकले मलाई दिदी भनेर चिनेको तर अब यो चलचित्रले आफूलाई आमा बनाएको उनले बताइन् । निर्देशक दिपेन्द्र के. खनालका अनुसार चलचित्रमा सामान्य कथा रहेको छ तर सामान्य भित्र एउटा मन छुने नेपालीपन पनि छ । महा शिवरात्रिको अवसरमा फागुन ९ गते रिलिज हुन लागेको चलचित्रमा मिथिला र सुरक्षाका साथमा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढालगायतका कलाकारको अभिनय छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा निर्देशकको आफ्नै लेखन र छायाङ्कन रहेको छ ।