गत असोज २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र 'छ माया छपक्कै' ले प्रदर्शनको गौरवमय ५१औँ दिन पुरा गरेको छ । दर्शकले चलचित्रलाई निकै मन पराए । यस वर्षको वैशाखदेखि कात्तिक तेस्रो सातासम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा ठुलो कमाई गर्न सफल पनि भयो । केही समय पहिले निर्माता दीपकराज गिरीले चलचित्रबाट आर्जन केही रकम सधैँ झैँ सामाजिक कार्यमा लगाइने बताएका थिए । चलचित्रले प्रदर्शनको गौरवमय ५१औँ दिन पुरा गरेको अवसरमा शान्ति आधारभूत विद्यालय नवलपुरका अनाथ बालबालिकालाई तीन लाख रुपैयाँ र न्यानो लुगा हस्तानतरण गरिएको छ । चलचित्रकी निर्मात्री कलाकार दीपाश्रीले आफ्नो सामाजिक सञ्जालमा यस बारे जानकारी दिएकी हुन् ।
चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतका कलाकारहरूको अभिनय रहेको छ । निर्माता रोहित अधिकारीसँग मिलेर दीपक र दीपाले निर्माण गरेको ‘छ माया छपक्कै’लाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् ।