सत्य घटनामा आधारित चलचित्र ‘कोपिला’को ट्रेलर सार्वजनिक भएको छ । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय निर्मला पन्तको वास्तविक कथामा आधारित चलचित्रको ट्रेलर शुक्रवार इन्टरनेटमा सार्वजनिक गरिएको हो । चलचित्र बालिकाको बलात्कारपछिको हत्या र त्यसपछि उत्पन्न भएको परिस्थितिको वरिपरि घुमेको ट्रेलरले देखाउँछ । ट्रेलरमा निर्मला पन्तको हत्या र हत्यारा पत्ता लगाउने नाममा भएको राजनैतिक चलखेल र निर्मलाको परिवारमा परेको मनोवैज्ञानिक असरलाई समेटिएको छ । ट्रेलरमा निर्मलकी आमा र बहिनिको पनि भने समेटिएको छ । उनले आफ्नो छोरीमाथि भएको घृणित कार्य अरूमाथि हुनबाट रोक्न चलचित्रले ठुलो भूमिका खेल्ने आस व्यक्त गरेकी छन् । चलचित्रमा सरिता गिरी, ऋद्धिचरण श्रेष्ठ, विमल पौडेल, गणेश गिरी, अस्मिता जुरेली, सञ्जीवनी खरेल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रमा रामेश्वर कार्कीको छायाङ्कन, बन्दे प्रसादको सम्पादन, दीपक शर्माको सङ्गीत रहेको छ । 'कोपिला'लाई शिवम् अधिकारीले निर्देशन गरेका हुन् ।