रमित ढुङ्गाना निर्मित तथा अभिनीत फिल्म ‘बुद्ध वर्न इन नेपाल’ को सोमबार विशेष सो आयोजना गरिएको छ । काठमाण्डौंको वीग मुभिजमा आयोजित विशेष शोमा राजनीति र चलचित्र क्षेत्रका विभिन्न व्यक्तिहरूको उपस्थिति थियो । चार वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र हेर्न नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल उपस्थित थिए । एसिड पीडित मुस्कान खातुनको सहयोगार्थ ‘लाइन्स क्लब अफ काठमाडौँ’ ले च्यारिटी सो गरेको हो । विशेष शोबाट उठेको रकम मुस्कानको उपचारको लागि दिइने छ । केही दिनमा विशेष शोबाट उठेको रकम र थप केही रकम जोडेर मुस्कानलाई हस्तान्तरण गरिने आयोजक संस्था लाइन्स क्लबले बताएको छ । चलचित्र हेर्न निम्त्याइएका नेता नेपालले मुस्कानको अध्ययनका लागि आफूले सरकारसमक्ष सहयोगको कुरा राख्ने आश्वासन दिए । उनले मुस्कानको सहयोगको लागि यस्ता कार्यक्रमहरू हुनु निकै राम्रो भएको बताए । यसै गरी अभिनेता ढुङ्गानाले आफूले मुस्कानको सहयोगका लागि चलचित्र उपलब्ध गराएको बताए । चलचित्र हेरेपछि मुस्कानले अहिलेसम्म धेरै जनाले सहयोग गरेको र यो सहयोगको लागि पनि धन्यवाद दिइन् भने यस्ता सहयोगले नै आफू लक्ष्यमा पुग्ने बताइन् ।