गायक सुदिन पोख्रेल करिब ८ वर्ष पछि नेपाली गीत सङ्गीत को क्षेत्रमा फर्किएका छन् । उनले लामो समय पछि 'जोस' बोलको गीत कोसेली स्वरूप लिएर आएका छन् । एक समयका निकै लोकप्रिय र नेपाली र्‍याप जनरालाई एउटा उचाइ दिन सफल उनी निकै जोसका साथ एल्बम जोस लिएर आएका हुन् । बुधवार सुदिनकै युट्युब च्यानलमा सार्वजनिक गरिएको गीत शब्द, स्वर र कम्पोजिसन उनकै रहेको छ । सार्वजनिक गीतको भिडियोलाई राज राणाले खिचेका हुन् भने निर्देशन पनि उनैले गरेका हुन् । गीतले सुदिनको आफ्नै सङ्घर्षको कथा भने जस्तो भान हुन्छ भने वर्तमान समाजमा आएका विकृति र अन्योलतालाई व्यङ्ग्य गरेको छ । उनले गीत मार्फत नै आफू करिब आठ वर्ष सङ्गीत क्षेत्रबाट हराउनु को कारण र अहिले आउनु पछाडिको साहसलाई मार्मिक तरिकाले प्रस्तुत गरेका छन् । उनले पछिल्लो समय नेपाली गीत सङ्गीतमा उठेको विवाद र समस्यालाई पनि गीतमा कलात्मक तरिकाले प्रस्तुत गरेका छन् ।