‘आइइसी डिजाइनर्स रनवे’ को लागी ‘आइइसी डिजाइनर्स रनवे अडिसन’ हुने भएको छ । आगामी चैत ८ गते होटेल हायात रिजेन्सीमा आयोजना हुने फेसन शोका लागि मोडल छान्ने उद्देश्यले अडिसनका लागि आवेदन खुल्ला गरिएको छ । आगामी पुस १२ गते शनिवार दरबारमार्ग स्थित म्याग्नम लाउन्जमा अडिसन आयोजना हुनेछ । अडिसनमा सहभागी हुनको लागी  ५ फिट ६ इन्च उचाइ भएका १८ देखि २६ वर्षसम्मका मोडलले आवेदन भर्न सक्ने बताइएको छ । आवेदन फारम नेक्स्ट मोडल्स नेपालको कार्यालय कालीमाटी, आइइसी डिजाइनर्स बागबजार र चन्डोलबाट भर्न सकिने शोको व्यवस्थापक संस्था नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिएका छन् । अडिसनबाट उत्कृष्ट २३ मोडलको छनौट हुनेछन् । अडिसनबाट छानिएका मोडलले मात्र फेसन शोमा सहभागिता जनाउन पाउने छन् ।

पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी, आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, वरिष्ठ फोटोग्राफर राजभाई सुवाल, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला लगायत अडिसनको निर्णायक रहनेछन्। अडिसनबाट छनौट भएका मोडललाई भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरको कोरियोग्राफीमा अहिलेसम्मकै फरक तरिकाले र्‍याम्पमा उतारिनेछ । शोमा ३४ डिजाइनरले तयार पारेका आकर्षक पहिरन मोडलमार्फत र्‍याम्पमा प्रस्तुत गरिनेछ । विगत ९ वर्षदेखि नियमित आयोजना हुँदै आएको ‘आइइसी डिजाइनर्स रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्नु र नेपाली फेसनका आकर्षक डिजाइन अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउनु रहेको आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिएकी छिन् ।