भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार अपराह्न काठमाडौँ आइपुगेकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिएका छन् । पूर्व योजना अनुसार उनी अपराह्न २:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने भनिएको थियो । तर कारणवश फ्लाइट डिले हुँदा उनी ४:३० बजे मात्र नेपाल विमानस्थलमा झारिन् । उनी आएसँगै विमानस्थलमा उनको भव्य स्वागत गरिएको छ । शनिवार हुने कार्यक्रममा उनका साथमा नेपालका ३५ जना कलाकारले पनि प्रस्तुति दिनेछन् । असी वर्षीय गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ । उनले प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरी खेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भई नजाऊ कहिल्यै लगायत दर्जनौँ नेपाली गीतमा स्वर दिएकी छिन् ।