पछिल्लो समय सम्बन्ध विच्छेद विवाह जस्तै सामान्य प्रक्रिया भैसकेको छ । त्यसमा पनि सर्वाधिक सम्बन्ध विच्छेदका भुक्त भोगी बनिरहेका छन् नेपाली कलाकारहरू । श्रीमान् श्रीमती बिच सम्बन्ध राम्रो हुन नसके र एक अर्का बिना नै खुसी हुन्छु भन्ने भए पछि मान्छेले सम्बन्ध विच्छेद गर्ने हो । जुन कसैलाई पनि रहर हुँदैन । तर कहिलेकाहीँ बाध्यता र वातावरणले सम्बन्धले यसो गर्न बाध्य गराउँछ । सम्बन्ध विच्छेद बारे हरेक मान्छेको आफ्नै धारणा होला तर यसो भन्दैमा अँधेरोमा तिर हाने झैँ कसैको व्यक्तिगत जीवन माथि प्रश्न गर्ने अधिकार कसैमा हुँदैन । सामान्यतया कलाकारको सम्बन्ध विच्छेद हुँदा हरेक समय पैसा वा सम्पत्तिको कुरा आउँछ । यानकी सम्बन्ध विच्छेद गर्ने श्रीमतीलाई सम्पत्तिको लागी सम्बन्ध तोडेको आरोप लगाइन्छ । यसैबिच लामो समय प्रेममा रहेर विवाह गरेका निकै चर्चित जोडीको बुधवार सम्बन्ध विच्छेदको खबर बाहिरियो । खबर बाहिरिएसँगै यसबारे आफ्नो मत राख्नेको ओइरो लागेको छ सामाजिक सञ्जालमा । गायक रामकृष्ण ढकाल दम्पतीको सम्बन्ध विच्छेदको खबरले यति बेला सामाजिक सञ्जाल भरिएको छ, त्यसमा थपिएका छन् निलम माथि लगाइएका लाञ्छना र गाली वेइजतिका ओइरो । उनीहरूबिच खटपट भएको कहिल्यै नसुनिएको हुनाले धेरैका लागि यो खबर अप्रत्याशित बन्यो ।
डिभोर्सको कारण के होला भन्ने विषयमा विभिन्न अड्कलबाजीहरू चलिरहँदा रामकृष्णले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे । निलम र उनको तस्बिर राख्दै उनले आफूहरूबिचको सम्बन्ध कहिल्यै नमर्ने उल्लेख गरेका छन् । उता आधिकारिक रूपमा दुईले अदालतमा सम्बन्ध विच्छेदको कागजमा सही गरिसकेका छन् । केही समय पहिले यो दम्पतीलाई आर्थिक सङ्कट र एक सहकारीले गरेको बदनामीको खबरले मिडिया तताएको थियो । यसको केही समय पछि गरिएको यो सम्बन्ध विच्छेदले अर्कै सङ्केत गर्ने भनेर अनुमान लगाउने को पनि कमी छैन । यसैबिच सबैले आ-आफ्नो मत राखिरहेका बेला कलाकार दीपकराज गिरीले आफ्नो मत पनि राखेका छन् । उनले दम्पतीबिच सम्बन्ध विच्छेद हुनुको कारण सम्पत्ति रहेको बताएका छन् । बिहीबार उनले सम्बन्ध विच्छेद हुनुमा श्रीमान् श्रीमती कसैको गल्ती नभएर सम्पत्ति खराब रहेको लेखेका छन् । साथमा उनले अनेक अडकल बाजी लगाएर एकतर्फी आरोप लगाउनेलाई पनि व्यङ्ग्य गरेका छन् । आफूहरूको सम्बन्ध विच्छेद बारे रामकृष्ण र निलम ले कुनै आधिकारिक जानकारी भने दिइसकेका छैनन् ।