काठमाडौँ जिल्ला अदालतबाट गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाह ढकालबिच सम्बन्ध विच्छेद भएको खबर बुधवार बाहिरियो । यसबारे अनेक विचार र समाचार बनिरहेकै छन् । यो खबर झुट हो या सही, कानुनी कागजले मात्र सही हो भनेको स्थिति आएको छ । अदालतको दैनिक पेशी सुचीमा पनि रामकृष्ण र निलमको सम्वन्धविच्छेद भएको देखिन्छ । सुचीअनुसार निलम शाहले रामकृष्ण ढकाललाई प्रतिवादी बनाएर ८ पुसमा सम्वन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् । उनको मुद्दाको दर्ता नम्बर ०७६-CP-३१८८   छ । अदालतले नै यो कुराको पुष्टि गरिसकेको छ ।  यसबारे हिजै गायक ढकालले सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै दुनियाँले जे भने पनि आफूहरूको माया कहिल्यै नमर्ने बताएका थिए । बिहीबार उनले सामाजिक सञ्जालमा एक लामो स्ट्याटस राखेका छन् । जसमा उनले आफ्नो पारिवारिक सम्बन्धको बारेमा आइरहेका सबै समाचार र अडकल बाजी मिथ्या हो भनेका छन् । उनले निलम र आफ्नो सम्बन्धमा कुनै अप्ठेरो न आएको र आफूहरू खुसीका साथ बाँचिरहेको लेखेका छन् । साथै उनले आफ्नो परिवारको आत्मसम्मान विपरीत यस्ता समाचारलाई विश्वास गरी मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिन सबैमा अनुरोध गरेका छन् । उनले आफ्नी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरू प्रति खेद प्रकट गरेका छन् ।

उनी लेख्छन्,  मैले आफूले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अङ्कमा गनेको पनि छैन। जीवनको यो लामो अन्तरालमा मैले कति दर्शक/श्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बनाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रशंसक कति रहेछन् भन्ने कुराको आभास भएको छ। सम्पूर्ण दर्शक श्रोता प्रति सधैँ कृतज्ञ छु र रहिरहनेछु।
पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन सङ्गिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरू बनेका छन् ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन् त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु। विशेष गरी मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्यूनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरू प्रति खेद प्रकट गर्दछु ।सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ-आफ्नै पारिवारिक विषय हुन्छन् जुन नितान्त व्यक्तिगत हुन्छन्। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो। यसर्थ म प्रति चासो देखाउनु हुने मेरा सम्पूर्ण दर्शक / श्रोतालाई यति कुरा प्रस्ट पार्न चाहन्छु कि आज म जे छु त्यो सबै तपाई सम्पूर्ण दर्शक/ श्रोताका कारण छु तर नेपाली गीत सङ्गीत क्षेत्रमा मलाइ अनवरत रूप मा हिँडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरी श्रीमती निलम हुन् । हामी सधैँ झैँ हाँसी खुसी परिवारमा सँगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन।
आशा छ तपाईँहरूको माया रहिरहने छ।
सबैको दिन शुभ रहोस्!