भारतकी प्रसिद्ध गायिका आशा भोस्ले बुधवार अपराह्न काठमाडौँ आइपुगेकी छिन् । साधना कला केन्द्रको निमन्त्रणामा उनी नेपाल आएकी उनले शनिवार सङ्गीतकार रणजीत गजमेरको सङ्गीत रहेका केही गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिएका छन् । बुधवार उनी आएसँगै विमानस्थलमा उनको भव्य स्वागत गरिएको थियो ।
सांस्कृतिक प्रस्तुति सँगै उनलाई स्वागत गरिएको थियो भने उनका फ्यानको ठुलो भिड जम्मा भएको थियो । त्रिभुवन विमानस्थलमा ओर्लिए लगत्तै उनले सञ्चार कर्मीसँग छोटो कुरा गर्दै नेपाल आउन पाउँदा खुसी लागेको अनुभव सुनाइन्। नेपालमा पहिलो पटक कन्सर्ट दिन आएकी उनको यो दोस्रो नेपाल भ्रमण हो ।
उनले ६० भन्दा धेरै चर्चित नेपाली गीत गाएकी छन् । ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’,‘म प्यार बेचिदिन्छु’, ‘साउने झरीमा’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ कहिल्यै’ मोहनी लाग्ला है लगायत नेपाली गीतमा स्वर दिएकी गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत क्षेत्र भ्रमण गर्ने कार्यक्रम छ ।