चर्चित चलचित्र 'छक्का पन्जा' सिरिज को चौथो भाग बन्ने भएको छ । 'छक्का पन्जा ३' पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको हो । चलचित्रको निर्माण घोषणासँगै रिलिज मिति पनि तोकिएको छ । चलचित्र निर्माण टिमले चलचित्र दसैँको फूलपातीमा रिलिज हुने गरी चलचित्रको निर्माण गर्ने तयारी गर्दै छ । चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले ‘छक्का पन्जा ४’ निर्माण गर्न लागेको पुष्टि गरेका छन् । दीपकले अन्य ब्यानरसँगको सहकार्यका लागि कुरा अगाडि बढाएको तर तत्काल सहकार्य हुन नसके पछि आफ्नै सिरिज लाई निरन्तरता दिने बताए । आगामी वर्षको दसैँमा पनि नेपाली चलचित्रबिच ठुलो भिडन्त हुने देखिएको छ ।
अर्को वर्षको दसैँका लागि अहिलेसम्म मह जोडीको नयाँ चलचित्र र अशोक शर्माको ‘अल्लारे २’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । त्यस्तै, ‘ए मेरो हजुर ४’ र ‘आइ एम ट्वान्टिवान’ पनि प्रदर्शनमा आउने चर्चा छ । निर्माता दीपकराज गिरीले रिच इन्टरटेन्मेन्ट र जी.जी.ए ग्रुपलाई काठमाडौँभित्र र एफडी कम्पनीलाई मोफसलमा चलचित्र वितरण गर्ने अधिकार दिएका छन् । शुक्रवार वितरक कम्पनीसँग उनको कागजी सम्झौता भएको हो । दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रको कथामा काम भइरहेको निर्माता गिरीले जानकारी दिए । यसमा उनीसँगै जितु नेपाल र केदार घिमिरेको प्रमुख भूमिका रहनेछ भने अभिनेत्री छनोट गरिएको छैन ।