नेपाल भाषाको चलचित्र ‘छंगु जिगु माया रतन’ बन्ने भएको छ । वितरक, हल सञ्चालक तथा फिल्म निर्माता गोपालकाजी कायस्थले चलचित्र निर्माण गर्न लागेका हुन् । सुरेन्द्र तुलाधरले निर्देशन गर्ने चलचित्रको घोषणा बिहीबार राजधानीमा एक कार्यक्रम बिच गरिएको थियो । सुखावती मल्टी प्रोडक्सनको ब्यानरमा बन्ने चलचित्र कथा पनि निर्देशक तुलाधर कै रहने छ । यसै चलचित्रबाट सरोज श्रेष्ठ र लजना महर्जनले डेब्यू गर्दै छन् । घोषणा कार्यक्रममा उनीहरूले फिल्मको शीर्ष गीतमा नृत्य पनि प्रस्तुत गरेका थिए । उनीहरूले आफूहरू चलचित्रलाई लिएर उत्साहित भएको पनि बताएका छन् । प्रेम कथानक चलचित्रलाई दिव्य सुवेदीले खिच्नेछन् भने निर्माता कायस्थसँगै गोविन्द महर्जन, विश्व रत्न तुलाधर, कविता श्रेष्ठ, रजना जोशी, उत्तम प्रधान, बुद्ध शाही र डा. बलराम श्रेष्ठको पनि लगानी रहनेछ । शीर्ष गीत गायक उदित नारायण झा र दीपा नारायण झाले गाएका छन् । निशिला शाक्यको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने चलचित्रको छायाङ्कन पुस अन्तिमबाट सुरु हुने बताइएको छ । यस चलचित्रलाई कमर्सियल रूपमै हलमा प्रदर्शन गरिने निर्माता कायस्थले बताएका छन् ।