प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । चलचित्रका निर्देशक नारायण रायमाझी र सपुतबिच केही दिन अघि सम्झौता भएको खबर बाहिरिएको छ । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने बताइएको छ तर चलचित्रमा सपुत इन्ट्री भएको बारे निर्माण पक्षले सार्वजनिक गरेको छैन । बुझिए अनुसार चलचित्रको छायाङ्कन फागुनबाट सुरु हुनेछ । निर्माण पक्षले नायिकाको भने टुङ्गो लगाइसकेको छैन । व्यापारिक हिसाबले निकै सफल रहेको चलचित्रमा प्रशान्तका अलावा रजनी केसी, नरेन खड्कालगायतको अभिनय रहेको थियो । दोस्रो सिक्वेललाई पनि दर्शकले मन पराउने आशा गर्न सकिन्छ । गायक प्रकाश सपुत सानैदेखी अभिनयमा रुचि राख्ने बताउँदै आएका थिए । उनको सपना गायक बन्नु नभै नायक बन्नु थियो जुन 'परदेशी २'बाट साकार हुने भएको छ ।