नेपाली चलचित्र क्षेत्रमा पैसाको विषयलाई लिएर मनमुटाब हुनु सामान्य जस्तै भैसकेको छ । साधारण मनमुटाब मात्र होइन लेनदेनको मुद्दा अदालतसम्म नै पुगेका उदाहरण पनि हामीमाझ प्रशस्तै छ । यसैबिच यही विवादमा फसेका छन् चलचित्र ‘पोइ पर्यो काले’ का वितरकहरू । चलचित्रको शेयरको विषयलाई लिएर काठमाडौँका वितरक द्वय गोपालकाजी कायस्थ र करण श्रेष्ठबिच विवाद केही पहिले नै सुरु भएको हो । जुन अझै साम्य भएको छैन । वितरक गोपाल कायस्थले काठमाडौँका प्रायः सबै हलबाट करण श्रेष्ठले आफूलाई जानकारी नै नगराई सेयर उठाएको भन्दै नेपाल चलचित्र सङ्घ र चलचित्र निर्माता सङ्घको संयुक्त कार्यदलमा बिहीबार निवेदन दिएका थिए । उनले निवेदनको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरे । जसमा करणलाई पनि ट्याग गरिएको थियो । निवेदनको तस्बिर सामाजिक सञ्जालमा साझेदार गरेर आफ्नो मानहानि गर्ने प्रयास भएको भन्दै करण आक्रोशित भएका थिए । यसै विषयलाई लिएर कायस्थले सङ्घमा पुनः निवेदन दिँदै भुल बस निवेदनको तस्बिर सामाजिक सञ्जालमा पोस्ट भएको भन्दै वितरक करणसँग माफी मागेका छन् । उक्त निवेदनको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा साझेदार गर्दै वितरक करण श्रेष्ठले कायस्थलाई धन्यवाद भनेका छन् । यती भइसक्दा पनि विके फिल्मस् र रिच इन्टरटेन्मेन्टले फिल्म बिचको शेयरको विषय भने टुङ्गिएको नटुङ्गिएको खुलाइएको छैन ।