गायक अलमोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ सार्वजनिक भएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक भएको गीतमा शब्द, सङ्गीत तथा संयोजन पनि अलमोडाको नै रहेको छ । गीतको सार्वजनिक भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकाश लामिछाने फिचर्ड छन् । गीत निकै मार्मिक रहेको छ जसमा बिदेसिएकी प्रेमिकाको पर्खाइमा बसेको प्रेमी र प्रेमिकाको नयाँ जीवनलाई प्रस्तुत गरिएको छ । गीतलाई सार्वजनिक भएको २४ घण्टा नबित्दै करिब नौ लाखले हेरिसकेका छन् भने  निकै राम्रो प्रतिक्रिया मिलेको छ । अलमोडाको यसै गीतको पहिलो भागलाई पनि निकै रुचाइएको थियो । भिडियोको परिकल्पना तथा निर्देशन मनोज बस्नेतले गरेका हुन् । यसै गरी  राम कुमार केसीले छायाङ्कन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहले । गीत यति बेला युट्युबको ट्रेन्डिङ लिस्टमा परिरहेको छ ।