टिकटकबाटै सेलिब्रेटी भएका प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अर्थात् ट्विनी गर्ल यति बेला निकै व्यस्त छन् । अब उनीहरू टिकटकमा मात्र होइन म्युजिक भिडियो र चलचित्रमा पनि देखिएका छन् । सोमवार उनीहरूको नृत्य रहेको चलचित्र ‘लभ डायरीज’ को ‘छमछम’ बोलको गीत सार्वजनिक भयो । चलचित्रमा अभिनय नै गर्ने सोच बनाई नसकेका यी दुई छुट्टिएर काम गर्न चाहँदैनन् । सोमवार गीत सार्वजनिक कार्यक्रममा यी दुईले आफूहरू अहिल्यै चलचित्रमा काम गर्ने सोच नबनाएको र भविष्यमा जे पनि हुन सक्ने बताएका छन् ।

साथमा 'अभिनेत्री हुन धेरै क्वालिटी चाहिन्छ, डान्स आएर हुँदैन, अभिनय राम्रो गर्न सक्नुपर्छ, दर्शकको अपेक्षा पूरा गर्न सके मात्र अभिनेत्री हुनुको सार्थकता हुन्छ ।' भनेका छन् । यसै गरी उनीहरूले आफूहरू पैसाको लागी मात्र काम गरेको नभएको र आफूहरू भाइरल कन्टेन्ट नभएको बताउँछन् । आफूले भाइरल कन्टेन्टको ट्यागलाई स्वीकार गर्न नसक्ने सुनाउँछन् । दुई जना केही समयमा आउने र हराउने नभै लामो समय यही फिल्डमा टिकिरहने बताउँछन् ।