चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभ स्टोरी जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा परमिता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना, अभिनेता करण वर्मा र बुद्धि तामाङलाई स्थान दिइएको छ । ट्रेलरमा बुद्धि तामाङ र परमितालाई भिलेनको भूमिकामा देख्न सकिन्छ । देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापित लगायत कलाकारको अभिनय रहेको छ । जय मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’को कथा निर्माता जय राज राय आफैँले लेखेका हुन् । रायसँगै श्रीदेव बि .एल. र निशा खतिवडा निर्माता रहेको यस फिल्ममा शारदा खड्का अर्याल सह–निर्माताको रूपमा छन् । सार्वजनिक ट्रेलरले नेपाल तथा विदेशका दर्शकमा चलचित्रप्रति उत्सुकता बढाउने विश्वास रहेको निर्माता रायले बताए । चलचित्रको छायाङ्कन नेपालको तराई भेगमा गरिएको छ ।