चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली फिचर्ड छन् । दुईलाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा धुर्मुसको अङ्गालोमा सुन्तली छिन् । बुधवार अङ्ग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिँदै चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरिएको हो । रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र आगामी फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको छ ।
चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तलीसँगै दयाहाङ राई, विल्सन विक्रम राई, राजाराम पौडेल, बुद्धि तामाङलगायतका कलाकारहरूको अभिनय रहेको छ । हास्य कलाकार तथा समाजसेवी धुर्मुस-सुन्तलीको जोडिले निर्माण गरेको यस चलचित्रको केही दिन अगाडी गीत सार्वजनिक भएको छ जसलाई दर्शक श्रोताले निकै मन पराइरहेका छन् । सुबिहानी फिल्मस प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रमा डिन्डु लामा ह्योल्मोको लगानी रहनेछ भने फुर्पा लामा सह-निर्मातामा रहेका छन् । ‘सेन्टी भाइरस’मा राजनराज सिवाकोटी र कालीप्रसाद बास्कोटाको सङ्गीत, शैलेन्द्र डी कार्कीको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।