दुई रियालिटी सो ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच शोको औपचारिक जानकारी गराइयो । दुवै कार्यक्रमको अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने छ । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रूपमा रहनेछन् । नृत्य र गायनमा रुचि हुने नव प्रतिभाहरूलाई अवसर दिने उद्देश्यले आयोजना गर्न लागिएको यी दुई रियालिटी शोको अमेरिकाको विभिन्न सहरमा अडिसन हुने अभिनेत्री केकी अधिकारीले जानकारी दिइन् । अडिसनबाट छानिएका करिब २० जना नव प्रतिभाले यस रियालिटी शोमा सहभागिता जनाउन पाउने उनको भनाई छ । ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ का विजेताले टोयोटा कार र १० तोला सुन प्राप्त गर्नेछन् । त्यस्तै, दोस्रो हुने विजेताले गोल्डेन कपसँगै आकर्षक उपहार पाउनेछन् भने तेस्रो हुनेले एउटा सिल्भर कप र आकर्षक उपहारहरू पाउने आयोजक सदस्यमध्येकी अभिनेत्री रीमा विश्वकर्माले जानकारी दिइन् ।

‘इन्टरनेशनल होम केयर’ का सञ्चालक डिल्ली अधिकारीको आयोजनामा ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ हुन लागेको हो । नृत्य र गायनमा रुचि हुनेका लागि यो रियालिटी सो ओपन प्लेटफर्म रहेको अभिनेत्री केकी बताउँछिन् । 'मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ को उद्घाटन कार्यक्रममा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गर्न लागेकी उनले नयाँ प्रतिभाहरूलाई अवसर र कला संस्कृतिलाई जोगाउने हिसाबले यो रियालिटी सो आयोजना हुँदै आएको बताइन् । उनी ‘मेरो डान्स कप’ को दोस्रो र तेस्रो सिजनमा पनि निर्णायकको भूमिकामा थिइन् । दुवै रियालिटी शोको ग्रान्ड फिनाले अगस्टमा हुनेछ । को उद्घाटन कार्यक्रममा नेपाली फिल्म र साङ्गीतिक क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहने बताइएको छ । सन्दीप क्षेत्री, बाबु बोगटी, दिलीप रायमाझी, सुशील क्षेत्री, सारंगा श्रेष्ठ, मेलिना मानन्धर, अरुणिमा लम्साल, शिव परियार, अन्जु पन्तलगायत ३० भन्दा बढी फिल्म र सङ्गीत क्षेत्रका व्यक्तिहरुकोे उपस्थिति रहने बताइएको छ । गायक प्रमोद खरेल भने केही समयपछि मात्र अमेरिका जानेछन् । गायक खरेलले विदेशी भूमिमा यस खालका कार्यक्रमहरू हुनु एकदमै राम्रो रहेको बताए । नृत्य र गायनमा रुचि हुनेहरूका लागि ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाइस कप’ एउटा ठुलो मञ्च साबित हुने उनको विश्वास छ ।