काठमाडौँ , २६ असार ।निर्देशक मिलन चाम्सले नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । पछिल्लो समयका व्यस्त निर्देशकमा पर्ने चाम्सले ‘लिलिबिली’ नामक चलचित्र निर्माण गर्न लागेका हुन् । बेलायत र स्कटल्याण्डमा छायाङ्कन गरिने चलचित्रमा हलिउड चलचित्र ‘डक्टर स्ट्रेन्जमा’मा काम गरिसकेकी शिल्पा मास्के तय भइसकेको निर्देशक चाम्सले जानकारी दिए । चाम्सको अनुसार चलचित्रमा अझै मुख्य पात्रको लागी नायक र नायिकाको खोजी भइरहेको छ ।
चाम्स इन्टरटेन्मेन्ट, काफिया फिल्मस् र डेउ फिल्मस्को संयुक्त ब्यानरमा यो चलचित्र निर्माण हुनेछ । लभ स्टोरीमा आधारित रहेको चलचित्र लिलिबिलीको नाम पछि परिवर्तन गर्न सकिने उनले बताए । हाल चाम्स चलचित्र ‘बोबी’को सुटिङमा व्यस्त छन् । उनको निर्देशनमा तयार भएको दुई चलचित्र ‘ह्याम्पी डेज र ‘ब्लाइन्ड रक्स’ प्रदर्शनको तयारीमा रहेको छ । मिलनले गत वर्षको सफल चलचित्र ‘वीर विक्रम’को सिक्वेल बनाउने पनि घोषणा गरिसकेका छन् । उनी भन्छन् ‘हामीसँग राम्रो टिम छ । सम्पूर्ण आवश्यक पर्ने सामाग्री पनि साथमा छ । त्यसैले काम गर्नलाई गाह्रो छैन ।’