गएको हप्ता नेपाली रजतपटको लागी उपलब्धि मूलक नै रह्यो । चलचित्र सम्बन्धी विविध कार्यक्रम अनि चलचित्रका प्रचारप्रसार सामाग्री रिलिज, यिनै बिच नेपाली रजतपटको गत हप्ता गुज्रियो । चलचित्र क्षेत्रमा सानोतिनो उत्सव त जहिल्यै भइरहेकै हुन्छ । यसै गरी गएको हप्ता पनि नेपाली कला र समग्र चलचित्र क्षेत्रले आफ्नो गति लिइरहन सफल भयो । हेरौँ तस्बिरमा यो हप्ता ।
चलचित्र ‘प्रेमगीत ३’ को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । यति बेला मनाङमा छायाङ्कन भइरहेको वर्षको प्रतीक्षित चलचित्रका अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा कलाकार थापा फरक र प्रभावशाली अवतारमा प्रस्तुत छन् । उनी भारी हिम पात भइरहेका बेला लामो यात्रामा निस्किएको पोस्टरले वर्णन गर्छ । साथमा उनले ढोल समेत बजाइरहेको पोस्टरमा देख्न सकिन्छ । सार्वजनिक पोस्टरले चलचित्रप्रति निकै कौतुहलता पैदा गरिदिएको छ ।
चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली फिचर्ड छन् । दुईलाई निकै रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । पोस्टरमा धुर्मुसको अङ्गालोमा सुन्तली छिन् । बुधवार अङ्ग्रेजी नयाँ वर्ष २०२० को शुभकामना दिँदै चलचित्र ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक गरिएको हो ।
दुई रियालिटी सो ‘मेरो डान्स कप’ को चौथो सिजन र ‘मेरो भ्वाइस कप’ को दोस्रो सिजनको औपचारिक घोषणा भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमका बिच शोको औपचारिक जानकारी गराइयो । दुवै कार्यक्रमको अमेरिकाको ओहोयास्थिति एक्रोनमा जनवरी ४ तारिखमा ग्रान्ड ओपनिङ हुने छ । ‘मेरो डान्स कप’ मा अभिनेत्री केकी अधिकारी र ‘मेरो भ्वाइस कप’ मा गायक प्रमोद खरेल निर्णायकको रूपमा रहनेछन् ।
पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको चलचित्र ‘मारूनी’ अस्ट्रेलियामा प्रदर्शन गरिएको छ । शुक्रवार साँझ अस्ट्रेलिया सिड्नीको सिभिक थिएटरमा चलचित्र प्रदर्शन गरिएको थियो । चलचित्र प्रदर्शनकै लागी नायक पुष्प खड्का र निर्मात्री पुनम गौतम सिड्नी पुगेका थिए ।
निर्माणाधीन चलचित्र ‘चपली हाइट ३’को भर्खरै छायाङ्कन सम्पन्न भएको छ । केही दिन अघि निर्माण टिमले आधिकारिक रूपमै चलचित्रको छायाङ्कन सकिएको जानकारी दिएको थियो । काठमाडौँ वरिपरि खिचिएको यस चलचित्र ३२ दिनमा प्याक अप भएको हो । चलचित्रको पोस्ट प्रोडक्सनको काम भइरहेका बेला चलचित्रका निर्माता अर्जुन कुमार, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार आमिर गौतमको मनकामना दर्शक गर्न पुगेका छन् । चलचित्र सफल होस् भन्ने कामना गर्न उनीहरू मनकामना पुगेका हुन् ।
नायिका ऋचा शर्माकी आमाको निधन भएको छ । आमा रिनादेवी शर्माको ६७ वर्षको उमेरमा रिनादेवीको निधन भएको हो । लामो समय देखी अस्वस्थ्य उनको गए राती निधन भएको हो । केही हप्ता अघि दिपेक्ष विक्रम रानासँग बिहे बन्धनमा बाँधिएकी उनको विवाहको समयमा पनि आमा बिरामी नै रहेको ॠचाले बताएकी थिइन् ।
‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौँ संस्करण सम्पन्न भएको छ । शनिवार ललितपुरमा आयोजना भएको अवार्ड कार्यक्रममा चलचित्र कर्मीहरूको उपस्थिति बाक्लो थियो । चलचित्र ‘प्रसाद’ ले प्रमुख विधामा अवार्डमा पाँच विधामा अवार्ड जितेको छ । स्वस्तिमा खड्काले पब्लिक च्वाईस अवार्ड पाइन् भने ‘साइँली’ बाट दयाहाङ राईले सह-अभिनेताको अवार्ड हात पारे ।
प्रशान्त तामाङको मुख्य भूमिका रहेको चलचित्र ‘परदेशी’ को सिक्वेल बन्ने भएको छ । २०७२ सालमा प्रदर्शनमा आएको चलचित्रमा चर्चित लोक गायक प्रकाश सपुतले नायकको रूपमा डेब्यू गर्ने भएका छन् । चलचित्रका निर्देशक नारायण रायमाझी र सपुतबिच केही दिन अघि सम्झौता भएको खबर बाहिरिएको छ । चलचित्रले रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथा भन्ने बताइएको छ तर चलचित्रमा सपुत इन्ट्री भएको बारे निर्माण पक्षले सार्वजनिक गरेको छैन ।
चलचित्र ‘दि कर्मा’को ट्रेलर सार्वजनिक भएको छ । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभ स्टोरी जनराको चलचित्रको सार्वजनिक ट्रेलरमा परमिता राज्यलक्ष्मी राणा, नीता ढुङ्गाना, अभिनेता करण वर्मा र बुद्धि तामाङलाई स्थान दिइएको छ । ट्रेलरमा बुद्धि तामाङ र परमितालाई भिलेनको भूमिकामा देख्न सकिन्छ । देव कुमार श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई करण, नीता, परमिता, बुद्धिसँगै देव कुमार श्रेष्ठ, अनुप सक्सेना, सङ्गीता नापित लगायत कलाकारको अभिनय रहेको छ ।
गायक प्रताप दास र पूजा केप्छाकी मगरको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम बिच 'यात्रा' बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यराज एसारसीको शब्द र सरोज पोखरेलको सङ्गीत रहेको गीतमा उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ ।
एक समय ‘एक्सन स्टार’ को रूपमा सर्वाधिक रुचाइएका अभिनेता बिराज भट्ट ब्याक भएका छन् । भोजपुरी चलचित्र लामो समय बिताएका उनले ४ वर्ष अगाडि रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्म इन्डस्ट्रीमा पुनः हात हालेका थिए । चार वर्ष पछि भट्टको नयाँ चलचित्र ‘साङ्लो’को ट्रेलर सार्वजनिक भएको छ ।
एक समय खुबै रुचाइएका अभिनेता राजबल्लभ कोइराला पिता बन्दै छन् । दुई वर्ष अघि उनले प्रतिमा बिमलीसँग विवाह गरेका थिए । आइतबार उनले सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितका केही तस्बिर साझेदार गरेका छन् जसमा उनले उनले आफू छोरीको पिता बन्न लागेको पनि उदृत गरेका छन् । आठ वर्ष अघि चलचित्रको लागी भन्दै अमेरिका हान्नीएका उनी नेपाल फर्केका छैनन् ।
टिकटकबाटै सेलिब्रेटी भएका प्रिज्मा खतिवडा र प्रिन्सी खतिवडा अर्थात् ट्विनी गर्ल यति बेला निकै व्यस्त छन् । अब उनीहरू टिकटकमा मात्र होइन म्युजिक भिडियो र चलचित्रमा पनि देखिएका छन् । सोमवार उनीहरूको नृत्य रहेको चलचित्र ‘लभ डायरीज’ को ‘छमछम’ बोलको गीत सार्वजनिक भयो । चलचित्रमा अभिनय नै गर्ने सोच बनाई नसकेका यी दुई छुट्टिएर काम गर्न चाहँदैनन् ।
युवराज चौलागाईको नयाँ गीत सार्वजनिक भएको छ । गोपी श्रेष्ठ र अनुस्का पाठकको शब्द रहेको 'मल मल सारी' बोलको गीतमा सङ्गीत गायक चौलागाई कै रहेको छ । बुधवार सार्वजनिक भएको गीतको भिडियोमा पल शाह, वर्षा राउत र गायक युवराज चौलागाई फिचर्ड छन् । कबिराज गहत राजको निर्देशन रहेको भिडियोलाई दीपक राज सुनारले कोरियोग्राफी गरेका हुन् ।
गायन रियालिटी शो वाइ वाइ 'नेपाल स्टार' को अडिसन सुरु हुने भएको छ । नेपाली गायन रियालिटी शोमा आफ्नो पन भित्र्याउने लक्ष सहित सुरु गर्न लागिएको नेपाल स्टारको पहिलो अडिसन बुटवालामा हुने भएको छ । कि इन्टरटेनमेन्टको प्रस्तुति र कि एड्भरटाइजिंगको बजार व्यवस्थापनमा नेपाल टेलिभिजनबाट प्रसारण हुने शोमा नेपाली सुगम गीत सङ्गीतका तीन हस्ती आलोक श्री, गायक रामकृष्ण ढकाल र गायिका अन्जु पन्त निर्णायकको रूपमा रहने छन् ।
गायक अलमोडा राना उप्रेतीको गीत ‘कहिले भेट्ने खै २’ सार्वजनिक भएको छ । आइतबार इन्टरनेटमा सार्वजनिक भएको गीतमा शब्द, सङ्गीत तथा संयोजन पनि अलमोडाको नै रहेको छ । गीतको सार्वजनिक भिडियोमा नाजिर हुसेन, शिल्पा मास्के र विकाश लामिछाने फिचर्ड छन् ।
भ्यालेन्टाइन डेको अवसर पारेर चलचित्र फागुन २ बाट रिलिज हुने चलचित्र ‘लभ डायरिज’को नयाँ गीत रिलिज भएको छ । सोमवार राजधानीमा एक कार्यक्रम आयोजना गरी 'छम छम' बोलको गीत सार्वजनिक गरिएको हो । दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको आवाजमा रहेको 'छम छम' बोलको गीतमा सुशील श्रेष्ठको साथमा टिकटक हुँदै म्युजिक भिडियो र विज्ञापनमा सफल हुँदै आएका प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडा देखिएका छन् ।
चर्चित गायक प्रमोद खरेलको गीत 'लुकी लुकी चोरी चोरी' सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको गीतमा तारा अधिकारीको शब्द र रमेश कडरियाको सङ्गीत रहेको छ । यसै गरी गीतको भिडियोमा अभिनेता नाजिर हुसेन र एलिशा राई फिचर्ड छन् ।