काठमाडौं, असार २७। वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’ले सकारात्मक सोचका लागि एक दिने अभियान सम्पन्न गरेको छ । सोच नै सबै समस्याको जड भएको भन्दै फिल्मले गत शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियान सम्पन्न गरेको हो । एक दिने अभियानका क्रममा रक्तदान, विद्यार्थीलाई परामर्श, कन्डम वितरण र स्वास्थ्य जाँच आदि गरिएको थियो । सोही अवसरमा फिल्मको प्रदर्शनीसमेत गरिएको थियो । प्रदर्शनीसँगै फिल्मका कलाकार दर्शकसँग अन्तरसंवादमा संलग्न भएका थिए ।
निर्देशक तथा निर्माता सागर उद्गमले हल नभएका स्थानमा पनि फिल्म देखाइने बताए । ‘हाम्रो उद्देश्य हल नभएका ठाउँमा लगेर फिल्म देखाइ सचेतना जगाउने हो,’ निर्देशक उद्गमले भने, ‘फिल्मको नाम कथामा नदेखिए पनि दुव्र्यसन छोड्नुपर्छ भन्ने प्रतिबद्धता व्यक्त गर्नेको मनमा आएको भावना नै सिग्नेचरको अर्थ हो ।’ सागर अस्कर कलेज अफ फिल्म स्टडिजका सभापति पनि हुन् ।
फिल्ममा विनोद, नम्रता र सन्दिपसँगै जीवनसाथी बस्नेत, निर्णय श्रेष्ठ, जेबी डिसी, सरिता गिरी, प्रज्ञा जोशीलगायतको अभिनय छ । प्रकाश सुवेदी र सागर उद्गमको लगानी रहेको फिल्ममा पुरुषोत्तम प्रधान, धिरजजंग शाह, शिवराम श्रेष्ठ र नवराज सुवेदीको छायाङकन, निशान घिमिरेको सम्पादन तथा रंग समायोजन, अच्युत सिटौलाको गीत, संगीत र गायन, जीवन थापाको ग्राफिक्स, विवश पौडेलको पाश्र्व संगीत, मुकेश साहको मिक्सिङ रहेको छ । फिल्मको प्रदर्शनीअघि फिल्मले लागू पदार्थ दुव्र्यसनका विरुद्ध जनचेतनाका लागि उल्लेख्य काम गरेको भन्दै सरकारले फिल्मलाई ‘अवार्ड अफ एक्सिलेन्स’ले सम्मान गरेको थियो ।