आसाममा डिसेम्बर २७ बाट ‘डेइजिङ फेस्टिभल’ सुरु भएको छ । जनवरी ७ मा फेस्टिभल समाप्त हुँदै छ । यसै फेस्टिभलको अन्तिम दिन गायक प्रमोद खरेलले साङ्गीतिक प्रस्तुति दिनेछन् यसैको लागी उनी तयारी गरिरहेका छन् । डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट नै आयोजना भएको कार्यक्रम हो । उक्त कार्यक्रममा एसियाका लोकप्रिय कलाकारहरूको प्रस्तुति रहने छ । यो कार्यक्रममा बलिउडबाट विशाल शेखर, नीति मोहन, मिका सिंहले प्रस्तुति दिएका छन् । प्रमोद नेपालबाट सहभागी हुने पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको हो । प्रमोद आइतबार ब्यान्ड सहित त्यता प्रस्थान गर्दै छन् । प्रमोदका अनुसार ब्यान्ड विना आसाममा गीत नै नसुनिने भएकाले आफू ब्यान्ड सहित आसामको महोत्सवमा सहभागी हुन लागेको बताएका छन् ।

उनले अबका दिनमा नेपालमा पनि ब्यान्डलाई नै प्राथमिकता दिने बताउँछन् । कार्यक्रमको लागी आफ्नो तयारी बारे सुनाउँदै भन्छन्, ‘पहिलो पटक जाँदै छु । त्यहाँ मैले नेपाललाई प्रतिनिधित्व गरिरहेको हुनेछु । मेरो हर प्रयास भनेको नेपाली संस्कृतिलाई चिनाउने नै हुनेछ ।’ उनले आफ्नो हिट गीतहरूका साथमा पुराना लोक तथा नेपाली संकृती झल्कने गीतलाई पनि उनले प्राथमिकता दिएका छन् । प्रमोदसँग उनलाई साथ दिन गायिका मिना निरौला पनि आसाम जानेछिन् । प्रमोदले फेस्टिभलमा नेपालले आयोजना गरेको ‘भिजिट नेपाल २०२०’को विषयमा बोल्नेछन् ।