शैली थिएटर रातो पुलमा नयाँ नाटकको मञ्चन सुरु भएको छ । शुक्रवारबाट नाटक ‘विवाहको प्रस्ताव’को मञ्चन सुरु भएको हो । एन्टोन चेखबको ‘दि म्यारिज पर्पोजल’को नेपाली करण गरेर नाटकलाई तयार गरिएको नाटकलाई नवराज बुढाथोकीले निर्देशन गरेका हुन् । विवाह र विवाहको प्रस्तावको विषयलाई नाटकमा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । नाटकले विवाहको लागि झुटो बोल्ने प्रचलनमाथि समेत व्यङ्ग्य गरेको छ । नाटकमा मान्छेले आफ्नो प्रवृत्ति लुकाउन गर्ने हर्कालाई निकै रोचक तरिकाले प्रस्तुत गरिएको छ । ‘विवाहको प्रस्ताव’मा शशाङ्क बोहरा, स्नेहा पौडेल, सुवास सुवेदीको अनुहार देखिन्छ भने देवेन्द्र बब्लु, भारती रिजाल, रोबिन तामाङ, विशाल घिमिरे, दीप्ति पौडेल, निर्भीक भट्टराई, रूपक काफ्ले र सन्तोष बराइलीको अभिनय रहेको छ । शैली थिएटर र रुसी सांस्कृतिक केन्द्रको प्रस्तुतिमा तयार भएको यो नाटक माघ १० गतेसम्म मञ्चन हुनेछ । नाटक बुधवार बाहेक हरेक दिन साँझ ४:५० मा मञ्चन हुने छ भने शनिवार अतिरिक्त सो दिउँसो १ बजे पनि मञ्चन गरिने छ ।