अभिनेता राजेश हमाल उमेरले लगभग ६०को दशकमा छन् । तर उनी आज पनि उही २०/ २५ वर्षीय युवाको जस्तो जोस र जाँगरका साथ प्रस्तुत हुन्छन् । त्यही उत्साह र तन्दुरुस्तीको कारण हो या बुढ्यौली देखिको डरले हो उनी सधैँ आफ्नो उमेर २५ बताउँछन् । ५० कटेपछि बिहे गरेका हमाल दिनप्रतिदिन आफूलाई जवान अनुभव गर्छन् । जन्मदिनमा उनलाई अधिकांशले उमेरबारे सोध्छन् । यस्तो प्रश्नमा उनको रेडिमेड जवाफ हुन्छ- '२५ लागेँ' । सोमवार नेपाल प्राविधिक सङ्घको अवार्ड घोषणा कार्यक्रममा बोल्ने क्रममा हमालको मुखबाट अनायासै फुस्कियो, 'फिल्म क्षेत्रमा लागेको ३०-३२ वर्ष भयो ।' यसो भन्ने बित्तिकै सायद उनले आफूले उमेरको पोयो खोल्न सुरु गरेको शङ्का लागेछ क्यार त्यसैले थपिहाले, 'तर, मेरो उमेरचाहिँ मात्र २५ हो है !'